काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गरिनुपर्ने बताएका छन्। उनका अनुसार लामिछानेलाई थुनामै राखेर नभई बाहिरै बसालेर अनुसन्धान गर्ने मौका दिनुपर्छ।
एक टेलिभिजन अन्तर्वार्तामा शाहीले भने,“उहाँ दोषी वा निर्दोष भन्ने कुरा भोलि अदालतले फैसला गर्ला। तर थुनेर अनुसन्धान गर्नुभन्दा बाहिर राखेर अनुसन्धान गर्नु पर्ने हो।”
शाही लामिछानेको पक्षमा लामो समयदेखि केही हदसम्म सकारात्मक रूपमा बोल्दै आएको देखिन्छ। यसअघि पनि उनले तत्कालीन सरकारले लामिछानेमाथि प्रतिशोध साँधेको आरोप लगाउँदै उनको पक्षमा आवाज उठाएका थिए।
रवि लामिछाने हाल सहकारी ठगीको आरोपमा नख्खु कारागारमा रहेका छन्। यसअघि भैरहवा कारागारमा रहेका उनलाई मानवअधिकार हनन भएको र पूर्व गृहमन्त्रीको हैसियतले न्यूनतम सुविधा समेत नपाएको भन्दै भैरहवाबाट नख्खु सारिएको थियो।
लामिछाने भने आफूलाई थुना बाहिरै रहँदै मुद्दा लड्न पाउनुपर्ने माग राख्दै आएका छन्। रास्वपाले पनि उनलाई थुनामुक्त गराउन सरकारको भूमिकाबारे प्रश्न उठाउँदै आएको छ।
गत भदौ २४ गते ‘जेन–जेड आन्दोलन’ उत्कर्षमा पुगेको दिन समर्थकहरूले लामिछानेलाई नख्खु कारागारबाट बाहिर निकालेका थिए। तर मुद्दा चलिरहेको व्यक्तिले अदालतको आदेशबिनै आन्दोलनको फाइदा उठाएर बाहिरिएको भन्दै व्यापक आलोचना भएपछि उनी भदौ २८ गते फेरि अदालतमा उपस्थित भएका थिए।
कारागार फर्किनुअघि उनले सामाजिक सञ्जालमा भिडियो सन्देशसहित एक टिप्पणी पोस्ट गर्दै आफू लोकतन्त्र र विधिको शासनप्रति प्रतिबद्ध राजनीतिकर्मी भएको र त्यसमा सम्झौता नगर्ने बताए।
गत बिहीवार तोकिएका दुईवटा मुद्दाका पेसी — उच्च अदालत पाटन र तुलसीपुरको बुटवल इजलासमा— स्थगित भएका छन्। बुटवल इजलासका उप–रजिस्ट्रार यज्ञमूर्ति ज्ञवालीका अनुसार पेसी अब अर्को बिहीवार तोकिएको छ। पाटनमा पनि बिहीवार नै सुनुवाइ हुने बताइएको छ।अधिकारीहरूले बताएअनुसार, लामिछानेका वकिलकै कारण पेसी स्थगित भएको हो।
रास्वपाका कार्यकर्ताहरू समेत लामिछानेलाई कारागारमुक्त गर्नुपर्ने माग गर्दै आएका छन्। उनीहरूका अनुसार, अघिल्लो सरकारले प्रतिशोध साँधेको भए पनि अहिलेको सरकारले न्याय दिने आशा उनीहरूमा छ।यद्यपि, लामिछानेसम्बन्धी मुद्दाको पेसी लगातार स्थगित हुँदै आएको छ।