Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालेन र कुलमान मिलेर गर्दैछन् काम, बागमती नदी करिडोरमा सडक बत्ती र सीसीटीभी जडान गरिँदै

बालेन र कुलमान मिलेर गर्दैछन् काम, बागमती नदी करिडोरमा सडक बत्ती र सीसीटीभी जडान गरिँदै

काठमाडौं- बागमती नदी करिडोरलाई रातको समयमा उज्यालो र सुरक्षित बनाइने बनाइने भएको छ। 

बागमती करिडोरको गोकर्णदेखि बल्खुसम्मको नदी किनारमा बत्ती राख्ने तयारी भएको हो। बागमती करिडोर क्षेत्रको निगरानीका लागि सीसीटीभीसमते जडान गर्न लागिएको शहरी विकास मन्त्रालयले जनाएको छ। 

महानगरपालिकाभित्रका यी क्षेत्रमा मन्त्री कुलमान घिसिङले महानगर प्रमुख बालेन्द्र शाह बालेनसँग सहकार्य गरेर काम अघि बढाएका हुन्।   

शहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी करिडोरको गोकर्ण—बल्खु क्षेत्रसम्म बत्ती र सीसीटीभी जडान गर्न लागेको हो। 

करिडोर क्षेत्रमा बढ्दै गएको फोहोरमैला व्यवस्थापन समस्या, अनाधिकृत गतिविधि तथा सुरक्षा चुनौतिलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न आधुनिक सीसीटी सर्भिलेन्स सिस्टम र हाइमास्ट स्मार्ट लाइटिङ सिस्टम जडानको तयारी भएको हो। 
 
बत्ती र सीसीटीभी जडानका लागि समितिले निर्माण व्यवसायी छनोटका लागि टेण्डर आह्वान गरिसकेको छ। नदी एवम् नदी किनारमा फोहोर फालेमा त्यसको निगरानी सीसीटीभीमार्फत् गरिनेछ। 

१२० थान अत्याधुनिक प्रविधिका तापक्रम, धुलो तथा पानी प्रतिरोधी दिन–रात दुबै समयमा काम गर्ने सीसी क्यामेरा जडान गर्ने र त्यसको सर्भर र मनिटरिङ्ग युनिट काठमाडौँ उपत्यकाको प्रहरी कार्यालयमा राख्ने तयारी छ।  

अँध्यारा क्षेत्र उज्यालो बनाई सुरक्षित र व्यवस्थित वातावरण निर्माणका लागि ५६७ थान स्मार्ट सडक बत्ति, ४८ थान फ्लड लाइट तथा ६ थान हाइमास्ट फ्लडलाइट जडान गरिने समितिले जनाएको छ। 

सीसीटीभी तथा तथा बत्ति जडानले निरन्तर चलिरहेको बागमती सरसफाइ महाअभियानलाई समेत टेवा पुग्ने विश्वास छ। 

सीसीटीभी तथा सडक बत्ती जडान भएपश्चात उक्त क्षेत्रको सुरक्षा, निगरानी, अपराधिक तथा अव्यवस्थित गतिविधिको रोकथाम र रात्रीकालीन उज्यालो व्यवस्था सुधारमार्फत समग्र वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउने लक्ष्य रहेको समितिले जनाएको छ।