काठमाडौँ । जेनजी अगुवा मिरज ढुंगानाको समूहले प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउने भएको छ।
ज्ञापनपत्र बुझाउन उक्त समूह आज दिउँसो तीन बजे प्रधानमन्त्री कार्यालय सिंहदरबार जाँदैछ। पछिल्लो समय सरकारमै रहेका केही व्यक्तिहरूले आन्दोलनको मर्मविपरीत कार्य गरेको आरोप लगाउँदै त्यसविरुद्ध ज्ञापनपत्र बुझाउन लागिएको ढुंगानाले बताएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा आफन्त र नातेदारलाई नियुक्ति दिएको विषय बाहिरिएपछि जेनजी अगुवाहरूले ध्यानाकर्षण गराउन थालेका हुन्। तीन फरक–फरक जेनजी समूहले यसअघि प्रधानमन्त्री कार्कीको सचिवालयमा आफन्त र नातेदारलाई नियुक्ति दिइएको भन्दै विज्ञप्ति जारी गरेका थिए।
यता, प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयमा कर्मचारी नियुक्तिको विषयमा प्रकाशित–प्रसारित सामग्रीलाई लिएर गम्भीर ध्यानाकर्षण भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। जेनजी आन्दोलनको बलमा स्थापित सरकारकी प्रधानमन्त्री कार्कीले मितव्ययिता, पारदर्शिता र जवाफदेहिकाको सन्दर्भमा जिम्मेवार र संवेदनशील भएर सोहीअनुरूप आचरण गर्दै आएको उल्लेख गरिएको छ।
कर्मचारी नियुक्तिको विषयमा बाहिर आएका समाचारहरू जेनजी आन्दोलनको मर्म र भावनाअनुसार सुशासन कायम गर्दै स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न सरकार लागिपरेको संवेदनशील समयमा ध्यानभंग गराउने उद्देश्यले आएका हुनसक्ने भन्दै ती सामग्रीमा विश्वास नगर्न पनि आग्रह गरिएको छ। प्रमुख स्वकीय सचिवमाथि लाञ्छना लगाई थर वा जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती ‘नातेदार’ भनी प्रचार नगरिदिन अनुरोध गरिएको छ।
सचिवालयमा ६७ जनाको दरबन्दी रहे पनि विगतका सरकारले प्रायः सबै पदमा कर्मचारी भरेका अवस्थामा, प्रधानमन्त्री कार्कीले अत्यन्त जरुरी र नगर्नु नभएका कामका लागि मात्र २० जनाको सानो सचिवालय गठन गरेको रावलले विज्ञप्तिमा उल्लेख गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्बद्ध स्रोतका अनुसार नेपाल सरकारका सचिव सरहको सुविधा लिएका आदर्शले आफ्नी पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिवमा नियुक्त गरेका छन्। त्यस्तै, नातेदार कमला श्रेष्ठ पनि स्वकीय सहसचिवमा नियुक्त भएकी छन्। संगीता र कमला दुवैजना असोज २ गते एकैदिन नियुक्त भएका हुन्। सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएको एक साताभित्रै उनीहरूको नियुक्ति भएको बताइन्छ।
यस्तै, नासु सरहको प्रशासन सहायकमा पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि त्यही दिन नियुक्त भएका थिए।
जेनजी मुभमेन्टले विद्रोहका आदर्श, सुशासनका लागि प्राण अर्पण गरेका सहिद तथा घाइतेहरूसहित नेपाली जनताप्रति गम्भीर अपमान हुनेगरी सरकार अघि बढ्दा सरकार नैतिकता र जनविश्वास दुवै गुमाएको आरोप लगाएको छ। अहिले प्रायः सबै जेनजी समूहहरू आक्रोशित बनेका छन्।