काठमाडौँ । ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङको निर्देशनपछि सडक विभागले काठमाडौँ उपत्यकाका मुख्य सडकका खाल्डाखुल्डी मर्मत कार्य सुरु गरेको छ।
सामान्यतया वर्षा लागेपछि र आर्थिक वर्षको अन्त्यतिर मात्रै विकास निर्माणका काम हुने गरेका थिए। हिउँदभरि आँखामैटी बसेर वर्षायाममा बजेट सकाउन नाम मात्रको विकास गर्ने पुरानै परिपाटीका कारण गुणस्तरहीन काम हुँदै आएको थियो।
तर यसपटक शहरी विकासमन्त्री कुलमान घिसिङले ‘सहर सफा र सुन्दर बनाउने अभियान’ अन्तर्गत उपत्यकाका मुख्य सडकमा रहेका खाल्डाखुल्डी हिउँदयाममै मर्मत गरी कालोपत्रे कार्य सुरु गरेका छन्। वर्षा लागेपछि मात्रै काम थाल्ने बानी बिर्सेर हिउँदयाममै काम सुरु भएपछि स्थानीयवासी समेत खुसी देखिएका छन्।
सडक विभागले विगतमा आर्थिक वर्ष सकिन लाग्दा र वर्षा सुरु भएपछि मात्रै खाल्डाखुल्डी पुर्ने काम गर्दै आएको थियो, जसले गर्दा न त काम गुणस्तरीय बन्थ्यो न त दिगो। बजेट सकाउने मेलो मात्र बन्थ्यो। वर्षायाममै निर्माण कार्य गर्दा सडक हिलाम्मे हुने र सर्वसाधारण जोखिम मोलेर हिँड्न बाध्य हुने स्थितिले जनताले वर्षौँसम्म हैरानी बेहोर्नुपरेको थियो।
यस वर्ष भने सडक मर्मत–सम्भार हिउँदयाममै सुरु गरिएको छ। मन्त्री घिसिङले अहिलेको मौसम सडक निर्माणका लागि उपयुक्त रहेको बताउँदै सम्बन्धित निकायलाई कार्य तीव्र बनाउन निर्देशन दिँदै आएका छन्।
घिसिङका अनुसार, निर्माण व्यवसायीले लिएका ठेक्काका काम समयमा नगर्दा र सरकारी कर्मचारीले आफ्नो जिम्मेवारीअनुसार निर्णय समयमै नगर्दा राज्यले ठूलो नोक्सानी व्यहोर्नुपरेको छ। पूर्वाधार क्षेत्रमा प्राविधिक दक्षता नदेखिनु, समयमै निर्णय नगरिनु तथा आयोजना कार्यान्वयनमा देखिने जटिलताका कारण रोजगारी सिर्जना, उत्पादकत्व वृद्धि, तथा कुल ग्रा.उ.उ. (GDP) मा योगदानजस्ता प्रत्यक्ष लाभ प्राप्त हुन नसकिरहेको उनको तर्क छ।
मन्त्री घिसिङले सडक विभागका महानिर्देशक, आयोजना प्रमुख तथा निर्माण व्यवसायीहरूसँग निर्माण प्रगति तथा समस्याबारे छलफल गर्दै अहिलेको मौसम उपयुक्त भएकाले निर्माण कार्यलाई थप तीव्रता दिन आग्रह गरेका छन्। उनले आयोजनातर्फबाट निर्णय गर्न बाँकी रहेका विषयमा तत्काल निर्णय गर्न, आवश्यक जनशक्ति तथा उपकरण थपेर निर्माणमा पूर्णरूपमा परिचालित भई आगामी असारभित्र सडक विस्तार सक्नेगरी काम गर्न निर्देशन दिएका छन्।
अर्थ मन्त्रालयले बजेट प्रतिबद्धता जनाइसकेकाले अब आयोजनामा बजेट अभाव नहुने मन्त्री घिसिङले स्पष्ट पारेका छन्।