काठमाडौँ- बाराको सिमरास्थित खानेपानी आयोजनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ठूला भनिएका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीसहितलाई पराजित गर्दै ठूलो झट्का दिएका छन्।
वर्षाैँदेखि एमालेको लालकिल्ला मानिएका यहाँ यसपटक शून्यमा झरेको छ। यहाँ मंसिर ६ गते भएको निर्वाचनले अप्रत्याशित राजनीतिक मोड पनि ल्याएको छ। एमालेको परम्परागत प्रभाव क्षेत्र मानिने यस ठाउँमा रास्वपाका युवराज न्यौपाने विजयी भएसँगै स्थानीय राजनीतिमा ठूलो हलचल पैदा भएको हो।
कांग्रेस, माओवादी, एमालेलगायतको ६ वटा गठबन्धन बनाएर रास्वपालाई हराउने प्रपञ्च रचे पनि जनताले त्यो समीकरणलाई उल्ट्याएर रास्वपालाई नै सर्वाधिक मत दिए। एक समय अन्त कतै एमाले नभए पनि सिमरामा एमाले हुन्छन् भन्ने कथनलाई पनि जनताले राम्रैसँग भत्काइदिएका छन्। यही कारण एमाले तेस्रो स्थानमा पुग्यो।
कुल ३३२० मत खसेको उक्त क्षेत्रमा स्वतन्त्र उम्मेदवार प्रकाशबहादुर क्षेत्री दोस्रो भए भने एमालेका पूर्णबहादुर तिमिल्सिना तेस्रोमा सीमित रहे। यसले हालै नेकपा एकीकृत समाजवादीबाट डेरा सरेर नेकपा एमाले फर्किएका किसान श्रेष्ठलगायतका एमाले नेताहरू चुनावी प्रभावमा झनै कमजोर बन्दै गएको पुष्टि पनि भएको छ।
यो केही दिनअघि एमाले महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेतलाई प्रवेश निषेध गरिएको क्षेत्र पनि हो।
शान्तिपूर्ण प्रदर्शन गरिरहेका जेनजी युवामाथि कुटपिटमा उत्रिएको एमालेले खानेपानी आयोजनाको चुनावमार्फत ताततातै त्यसको गम्भीर चोट बेहोरेको छ।
त्यस्तै सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेमाथि एमालेले चलाएको आक्रमणलाई मतदाताले उल्ट्याउँदै प्रतिशोधको रूपमा एमालेलाई धुलो चटाए।
यो परिणामले एमालेका लागि बारामा मात्र होइन, संघीय राजनीतिमा समेत गम्भीर संकेत देखिएको छ। यसले के संकेत गर्छ भने ठूला भनिएका खास गरी एमालेजस्ता दलले स्थानीय स्तरमा कसरी दमन गरिरहेका थिए र यसपटक रास्वपाले त्यसलाई कसरी तोड्दैछ भन्ने प्रष्ट हुन्छ।
देशव्यापी संगठन विस्तारमा लागेको रास्वपालाई भने यो जितले थप जिम्मेवार बन्दै आगामी रणनीति तय गर्नुपर्ने मोडमा उभ्याएको छ।