काठमाडौँ । ‘जेन जी’ युवा आन्दोलनको क्रममा प्रहरीले गैरकानुनी बल प्रयोग गरेको अन्तर्राष्ट्रिय मानवअधिकार संस्था ह्यूमन राइट्स वाचले विस्तृत रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्ट अनुसार दुई दिनसम्म चलेको हिंसात्मक झडपमा कम्तीमा दुई दर्जनभन्दा बढी प्रदर्शनकारीको मृत्यु, सयौँ घाइते र व्यापक निजी तथा सरकारी सम्पत्ति नष्ट भएको तथ्य औँल्याइएको छ।
प्रहरीमाथि गम्भीर र तत्काल संकट नहुने परिस्थितिमा रहेका प्रदर्शनकारीमाथि समेत ताकेरै गोली प्रहार गरेको पाइएको छ। मानवअधिकारको अवस्थाबारे विश्वव्यापी अनुगमन गर्ने संस्था ह्यूमन राइट्स वाचले हिंसा र उच्छृङ्खल क्रियाकलापमा संलग्न नभएका प्रदर्शनकारीमाथि समेत गोली प्रहार गरिएको निष्कर्ष निकालेको छ।
प्रतिवेदन अनुसार सुरक्षा संयन्त्रले कफ्र्यू घोषणा नगरी नै गोली प्रहार सुरु गरेको र प्राणघातक बल प्रयोग गर्दा कुनै चेतावनी नदिएको उल्लेख छ। ‘जेन जेड’ आन्दोलनका क्रममा स्कुल तथा कलेजको ड्रेसमै आएका युवामाथि समेत गोली प्रहार भएको थियो।
भदौ २३ गते भएको आन्दोलनको पहिलो दिन नै प्रहरीले गोली चलाउँदा १९ जना विद्यार्थीको मृत्यु भएको थियो। २३ गते १९ जनाको मृत्यु भएपछि २४ गते स्थिति नियन्त्रणबाहिर गएको थियो। २४ गते प्रदर्शनकारीले केही प्रहरीलाई कुटेर हत्या गरेका थिए भने धेरै प्रहरीमाथि हातपात भएको थियो।
त्यस दिन धेरै प्रहरी कार्यालय, ट्राफिक बिट, सरकारी संरचना, अदालत, निजी व्यापारिक भवन र व्यवसायहरूमा आगजनी तथा तोडफोड भएको थियो। प्रहरीका हतियार समेत लुटिएका थिए। केही राजनीतिक नेताहरू पनि कुटिएका थिए। अधिकांश काँग्रेस–एमाले नेताहरूका घर जलाईएको थियो।
आन्दोलन नियन्त्रणबाहिर गएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा देकर बसेका थिए। तत्कालीन सरकारले नै ‘जेन जेड’माथि गोली चलाउने आदेश दिएको आरोप लगाउँदै आन्दोलनकारीले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन्। तर यो माग अहिले सम्म पूरा भएको छैन।
ह्यूमन राइट्स वाचका अनुसन्धानकर्ताहरूले प्रत्यक्षदर्शी र घाइतेहरूसँगको कुराकानीपछि झडप भइरहेको ठाउँबाट भाग्दै गरेका व्यक्तिमाथि समेत गोली प्रहार भएको तथा धेरैको शरीरको पृष्ठभागमा गोली लागेको निष्कर्ष निकालेका छन्।
प्रदर्शन दबाउन प्रहरीले रबर बुलेट, वास्तविक गोली, अश्रुग्यास र अत्यधिक बल प्रयोग गरेको दृश्यहरू अहिले पनि सामाजिक सञ्जालमा भेटिन्छन्।
धेरै भिडियो र प्रत्यक्षदर्शी कथनको विश्लेषणपछि सार्वजनिक प्रतिवेदनमा भनिएको छ—सुरक्षाकर्मीहरूले कानुनी रूपमा आवश्यकभन्दा धेरै बल प्रयोग गरेका छन्। केही घटनामा घाइते प्रदर्शनकारीलाई समेत कुटपिट गरिएको छ। धेरै ठाउँमा निहत्था युवामाथि नजिकबाट गोली हानिएको, मेडिकल टोलीलाई अवरोध गरिएको र घाइतेलाई समयमै उपचार नदिनुले मृत्यु संख्या बढाएको छ।