काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला कार्यसमितिका सभापति प्रदीप विष्टले पदबाट राजीनामा दिएका छन्।
सभापतिको जिम्मेवारी निर्वाह गर्न नसकेको भन्दै उनले राजीनामा दिएको बताएका छन्। कार्यव्यस्तताका कारण पार्टीलाई पर्याप्त समय दिन नसकिएकोले सभापतिको पदमा बसिरहनु उचित नदेखिएको र मार्ग प्रशस्त गर्ने निर्णय लिएको उनको भनाइ छ।
यद्यपि उनले पदबाट राजीनामा दिए पनि रास्वपा नछोड्ने स्पष्ट गर्दै पार्टी सदस्यता भने यथावत् राखेका छन्। राजीनामाको विषयमा छलफल गर्न उनले जिल्ला कार्यसमिति बैठक बोलाएका थिए। बैठकका सहभागीहरूले उनलाई राजीनामा नदिन दबाब दिएका थिए र जिल्ला कार्यसमितिलाई अघि बढाउन नेतृत्व जारी राख्न आग्रह गरेका थिए। तर, कार्यव्यस्तता बढेकाले पार्टीलाई अल्झाउन नहुने सोचका साथ उनले राजीनामा दिएको बताइएको छ।
उनीले आफ्नो राजीनामा बागमती प्रदेश समितिमा बुझाएका छन्। राजीनामा स्वीकृत हुनु भने बाँकी छ। उक्त विषयमा छलफल गरेपछि समिति निर्णय गर्नेछ। विष्ट २०७९ को प्रतिनिधिसभा चुनावमा रास्वपाको तर्फबाट काठमाडौं–१० बाट उम्मेदवार बनेका थिए।
पछिल्लो समय रास्वपा छाड्नेहरूको संख्या एकातिर बढिरहेको देखिएको छ भने अर्कोतर्फ पार्टीमा प्रवेश गर्नेको लहर पनि उस्तै देखा परेको छ। वर्षौँदेखि पुराना पार्टीहरूबाट निराश भएकाहरू रास्वपामा प्रवेश गरिरहेका छन् भने कतिपय रास्वपामा चित्त नबुझेपछि पार्टी परित्याग पनि गरिरहेका छन्।
केही समयअघि पूर्वमन्त्री सुमना श्रेष्ठले पनि पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै रास्वपा छाडेकी थिइन्। उनले पार्टी व्यक्ति–केन्द्रित भएको र मिडिया ट्रायल बढी भएको आरोप लगाएकी थिइन्। त्यस्तै, केही दिनअघि प्रमुख सचेतकको जिम्मेवारी सम्हालेका सन्तोष परियारले पनि रास्वपा छाडेका छन्।
सन्तोष परियार आज बाबुराम भट्टराई, जनार्दन शर्मा लगायतसँग मिलेर पार्टी एकता गर्दै छन्। विभेदरहित समाज निर्माण गर्ने उद्देश्यका साथ रास्वपा नयाँ शक्तिको रूपमा आएको भए पनि सभापति रवि लामिछानेसँग परामर्श नै नगरी परियारले पार्टी छाडेको बताइएको छ।
भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान, तथा सन्तोष परियार नेतृत्वको समूहबीच आज एकता सभा हुन लागेको छ। कार्यक्रम राष्ट्रिय सभागृह, काठमाडौंमा दिउँसो १२ः३० बजे सुरु हुने र यसको अध्यक्षता सन्तोष परियारले गर्ने बताइएको छ। उनीहरूबीच कात्तिक २८ गते एकता सहमतिमा हस्ताक्षर भएको थियो।