Shares
Shares
काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएका घटना जाँचबुझ गर्न गठित आयोगले मुख्यसचिव एकनारायण अर्यालसँग बयान लिएको छ। बिहीबार आयोगको कार्यालयमा बोलाएर अर्यालसँग बयान लिएको जाँचबुझ आयोगका प्रवक्ता समेत रहेका पूर्वएआईजी विज्ञानराज शर्माले बताए।
‘उहाँ आउनु भयो। आफ्नो कुरा राख्नुभयो। हामीले यथार्थ विवरण बुझ्यौँ। उहाँले देखेका, उहाँले गरेका कामहरू सोध्यौँ’, शर्माले भने। बिहीबार सुरुमै आयोगमा बयान दिएर मुख्य सचिव अर्याल राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा पुगेका थिए।
मुख्यसचिव अर्याल केहीदिनमै अवकास हुँदैछन्। केपी शर्मा ओली नेतृत्वको सरकारले वरियतामा पछाडी रहेका अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको थियो।
१५ महिना मुख्यसचिव रहेर काम गरेका अर्याल अवकास हुनु पहिले नै आयोगले बयानमा बोलाएको हो। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ गते जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीसँग बयान लिइरहेको छ। त्यतिबेला जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत दुवै जना प्रहरी उपरीक्षक सँग बयान लिइसकेको छ। एसपी अपिलराज बोहरा र कुल्दीप चन्दले बयान दिएका हुन्।
त्यसभन्दा माथिल्लो पदमा कार्यरत प्रहरी अधिकारीहरूको बयान लिन बाँकी रहँदै आयोगले मुख्य सचिवलाई बयानमा बोलाएको हो। तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङसँग पनि बयान लिने प्रहरीको तयारी छ।
यसअघि प्रहरीको सूची माग्ने क्रममा पनि खापुङ र आयोगबीच खटपट भएको थियो। आयोगले त्यतिबेला खापुङसँग २४ घण्टे स्पष्टीकरण पनि सोधेको थियो।
जाँचबुझ आयोगले खापुङलाई पनि फेरि बोलाएर बयान लिने तयारी गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसँग पनि बयान लिने बताउँदै आएको छ। तल्लो तहबाट सुरु गरेर त्यतिबेलाका प्रधानमन्त्रीसम्म पुग्ने आयोगका सदस्यले बताउँदै आएका छन्। तर ओलीले भने आयोगमा बयान दिन जाँदिन भन्दै चुनौती दिइरहेका छन्।
आयोगलाई जाँचबुझ गरेर कारबाही सिफारिस गर्नेसम्मका अधिकार छ। आयोगले बयान लिन बोलाउँदैमा कारबाही नै गर्ने भन्ने नहुने स्पष्ट पारेको छ। ‘आयोगले बोलाउँदैमा मुद्दा लाग्दैन। प्रहरीको अनुसन्धानबाट दोषी देखियो भने उसले मुद्दा लैजाने हो’, आयोगका सदस्यले भने, ‘अहिले मुद्दा चलाउनु पर्छ भनेर कतिपय जेनजीले माग गर्दै आएका छन्। कानुनले त्यसो गर्न मिल्दैन।’
आयोगले करिव ३० जना प्रहरीसँग बयान लिइसकेको छ। तत्कालीम प्रमुख जिल्ला अधिकारी, काठमाडौँ प्रहरी प्रमुख लगायतसँग बाँकी रहेको आयोगका सदस्यले बताएका छन्। तत्कालीन प्रहरी प्रमुख विश्व अधिकारी भने एसएसपीबाट डीआईजीमा बढुवा भइसकेका छन्।
यस्तै आयोगले त्यतिबेलाका गृहसचिव गोकर्णमणि दुवाडीसँग पनि बयान लिन बाँकी छ। आयोगले बयानका लागि जुनसुकै बेला बोलाउनु पर्ने भन्दै ओली, लेखक, दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका निवर्तमान प्रमुख हुतराज थापा र काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालको पासपोर्ट रोक्का राख्दै काठमाडौँ उपत्यका छाड्न पनि अनुमति लिनु पर्ने निर्णय गरेको थियो।
दुवाडी यसअघि अनुमति लिएरै उपत्यका बाहिर गएका थिए। अन्यले पनि आवश्यक परे अनुमति लिएर जाँन सक्ने आयोगले बताउँदै आएको छ। निवर्तमान प्रहरी प्रमुख खापुङलाई पनि आईजीपीबाट अवकास भएको २४ घण्टा नमित्दै यस्तै आदेश दिएको थियो। आयोगलाई जाँचबुझ सकेर प्रतिवेदन बुझाउन तीन महिनाको समय तोकिएको छ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209