Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपाले चुनावका लागि उम्मेदवार छान्ने जिम्मा दिए विपिन आचार्यलाई, रुपन्देही ३ मा डा. लेखजंग थापालाई नै उठाउने

रास्वपाले चुनावका लागि उम्मेदवार छान्ने जिम्मा दिए विपिन आचार्यलाई, रुपन्देही ३ मा डा. लेखजंग थापालाई नै उठाउने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन केन्द्रित कार्यदलहरू गठन गर्ने निर्णय गरेको छ। रास्वपाको केन्द्रीय समिति बैठकले उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको निर्वाचन केन्द्रित घोषणा–पत्र (वाचापत्र) तयारी कार्यदलमा सदस्य विस्तार गर्ने निर्णय गरेको हो।

स्वर्णिम नेतृत्वको वाचापत्र तयारी कार्यदलमा केन्द्रीय सदस्यहरु सोविता गौतम, गणेश कार्की, क्रान्तिशिखा धिताल, अरनिको पाँडे, नन्दन यादवसहित पार्टी सल्लाहकार राम गुरुङ सदस्य रहेका छन्।

यस्तै, रास्वपाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार छनोटको जिम्मा सह–महामन्त्री विपिनकुमार आचार्यलाई दिएको छ। रास्वपाको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले उनलाई यसबारे थप जिम्मेवारी दिने निर्णय गरिएको प्रवक्ता मीनष झाले जानकारी दिए। यसअघि उनी उम्मेदवार छनोटसम्बन्धी रूपरेखा मस्यौदा तयार पार्ने जिम्मेवारीमा थिए। सो जिम्मेवारी सफलतापूर्वक पूरा गरेको भन्दै उम्मेदवार छनोटको पनि जिम्मा उनलाई दिइएको हो।

आचार्य संयोजक रहने समितिमा सचिवालय सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य डा. चन्दा कार्की, राजन गौतम (चितवन) तथा सबै प्रदेश सभापतिहरू पदेन सदस्य रहनेछन्।

यस्तै, रुपन्देही–३ का लागि भने पहिले नै तय भइसकेको उम्मेदवारलाई यथावत् राख्ने निर्णय रास्वपाले गरेको छ। पार्टीका अनुसार अब समितिले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि योग्य र सक्षम उम्मेदवारहरूको अन्तिम सूची तयार गर्नेछ। रुपन्देही–३ मा लेखजंग थापालाई नै उम्मेदवार बनाउने निर्णय भएको छ। यसअघि रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार तय भएका थापालाई नै आगामी प्रतिनिधि सभा निर्वाचनमा कायम राख्ने निर्णय गरिएको हो।

‘जेनजी’ आन्दोलनपछि प्रतिनिधि सभा विघटन भई निर्वाचन घोषणा गरेसँगै रुपन्देही–३ को उप–निर्वाचन स्वतः खारेज भएको थियो। रास्वपाले आकांक्षी ९ उम्मेदवारमध्येबाट थापालाई छनोट गरेको थियो।

रास्वपा अहिले निर्वाचन तयारीमा जुटिरहेको छ। रास्वपाले यसअघि समानुपातिक तर्फबाट उम्मेदवार बनेर प्रतिनिधि सभामा पुगेका नेताहरूलाई पुनः नदोहोर्याउने निर्णय गरिसकेको छ। अहिले रास्वपाभित्र ‘रिफर्मेशन’ का कुरा पनि उठिरहेका छन्। पार्टी सभापति रवि लामिछानेको ठाउँमा अर्को व्यक्ति ल्याउन केही सदस्यहरूले माग गरिरहेका छन्। तर, रास्वपाले रवि लामिछानेको विकल्प सोच्न नसकिने बताउँदै आएको छ।

केही दिनअघि यही विषयमा असन्तुष्टि जनाउँदै सन्तोष परियारले रास्वपा परित्याग गरेका थिए भने त्यसअघि सुमना श्रेष्ठले पनि पार्टी छाडेकी थिइन्। असन्तुष्टहरूलाई मिलाएर लैजानु रास्वपाको आवश्यकतासमेत बनेको छ। एकातिर निर्वाचन र अर्कोतिर आन्तरिक मतभेद बढिरहेको हुँदा रास्वपा अहिले दबावमा रहेको देखिन्छ।