काठमाडौँ । बाराको सिमरामा जेनजीहरूले बिहानैदेखि प्रदर्शन गरेपछि स्थिति भड्किन नदिन जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा आज पनि कर्फ्यू आदेश जारी गरेको छ। प्रशासनले आम दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कफ्र्यू लगाएको हो ।
नेकपा (एमाले) का कार्यकर्ता र जेनजी समूहका युवाबीच बुधबार भएको झडपका कारण बाराको सिमरा अशान्त बनेको छ । आज पनि विरोध प्रदर्शन गर्दै युवाहरू सडकमा निस्किएका छन् । प्रहरी प्रशासन र युवाहरूबीच बुधबार बेलुका भएको सहमतिपछि सडक सञ्चालमा आए पनि आज बिहानैबाट सो क्षेत्रको वातावरण अशान्त बन्दै गएको हो । स्थिीति नियन्त्रणमा लिने भन्दै प्रशाशनले कफुयु आजदेश जारी गरेको भए पनि प्रदर्शन भने रोकिएका्े छैन ।
वीरगञ्ज–पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्का पुलसम्म राजमार्गको दायाँ–बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ । प्रहरी/प्रशासन र युवाबीच बुधबार बेलुका भएको सहमति पश्चात सडक सञ्चालनमा आए पनि युवाहरूले बजारमा प्रदर्शनसँगै टायर बालेर नाराबाजी गरिरहेका छन् ।
सडकमा टायर बालेर यातायात अवरुद्ध पार्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन खोज्दा झडप समेत भएको छ । झडपमा परेर दुवैतर्फका केही सामान्य घाइते भएका छन् । झडपको क्रममा युवाहरूले प्रहरीमाथि ढुंगाइँट्टा प्रहार गरेपछि प्रहरी पछि हटेको छ । आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्ता पक्राउको माग गर्दै जेनजीले प्रदर्शन गरेका हुन् ।यता जेनजी र नेकपा एमालेका कार्यकर्ताबीचको झडपमा संलग्न दुई जना वडा अध्यक्ष पक्राउ परेका छन्। पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमद्विन अंसारी छन्।
उनीहरूविरुद्ध कुटपिटको आरोपमा स्थानीय जेनजी सम्राट भनिने साइकुस उपाध्यायले इलाका प्रहरी कार्यालय सिमरामा बुधबार नै जाहेरी दिएका थिए। जाहेरीपछि श्रेष्ठ र अन्सारीलाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको बाराका प्रहरी प्रमुख सन्तोष तामाङले जानकारी दिए। दुवै वडा अध्यक्ष एमालेबाट उम्मेदवार बनेर निर्वाचित भएका हुन्। घटनामा संलग्नलाई पक्राउ नगरे आन्दोलन गर्ने चेतावनी दिएका जेनजीहरू बिहीबार बिहानैदेखि आन्दोलनमा उत्रिएका छन्। उनीहरूले पथलैया सडक खण्ड अवरुद्ध गरेका छन्।
अवरुद्ध सडक खुलाउनेक्रममा प्रहरी बल प्रयोग गर्दा केहीबेर झडप भएको थियो। आफ्नो नेतालाई अवरोध गरेपछि एमालेका नेता कार्यकर्ताले जेनजी प्रदर्शनकारीमाथि हातपात गरेका थिए। उक्त कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य महेश बस्नेतसहितका नेता आउने थाहा पाएपछि जेनजीहरूले सिमरा विमानस्थल अगाडि प्रदर्शन गरेका थिए। उनीहरूले सिमरा विमानस्थलको गेट समेत तोडफोड गरेका थिए। झडपका कारण सिमरा र आसपास क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन पनि बन्द भएको छ । शान्ति सुरक्षाको कारण देखाउँदै विद्यालयहरू बन्द गरिएको हो ।