Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रविको मुद्दा र चुनावबारे छलफल गर्न रास्वपाले बोलायो बैठक

रविको मुद्दा र चुनावबारे छलफल गर्न रास्वपाले बोलायो बैठक

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेविरुद्धको मुद्दासहित १० एजेन्डामा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ। 

रास्वपा प्रवक्ता मनीष झाका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय (वनस्थली, काठमाडौँ) मा सुरु हुने गरी केन्द्रीय समितिको बैठक बोलाइएको हो। 

उनका अनुसार यस्तो छ बैठकको कार्यसूची:

१. समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहल (सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारीसमेत)।

२. केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा।

३. विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित।

४. वाचापत्र कार्यदल विस्तार।

५. संविधान परिमार्जन कार्यदल संयोजक सम्बन्धमा (संयोजक मनोनयन गरी तत्काल काम सुरु गर्न निर्देशन दिने)।

६. मिडिया अध्ययन कार्यदल (अहिलेदेखि निर्वाचनसम्म दैनिक मिडिया अध्ययन एवं विश्लेषण गर्ने, केन्द्रीय तहमा नियमित ब्रिफिङ गर्ने, आवश्यकताअनुसार घटना ब्रिफिङ गर्ने एवं केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने)।

७. राजनीति अध्ययन कार्यदल (राजनीतिक दल, समूह, शक्तिहरूको गतिविधि नियमित अध्ययन एवं विश्लेषण गर्ने, केन्द्रीय तहमा ब्रिफिङ गर्ने, आवश्यकताअनुसार घटनाको ब्रिफिङ गर्ने एवं केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने)।

८. उम्मेदवार छनोट सिफारिस समिति विस्तार।

९. रुपन्देही-३ को उम्मेदवार सम्बन्धमा।

१०. विविध

क. राजनीतिक दल-संगठन अध्ययन कार्यदल (केन्द्रीय संगठन विभागबाट ठूला एवं वैकल्पिक राजनीतिक दलहरूको संगठनको नियमित रणनीतिक अध्ययन गर्ने)।

ख. जेनजी युवालक्षित अभियान सम्बन्धमा।

सहकारी ठगीको मु्द्दामा रास्वपा सभापति लामिछाने हाल ललितपुरस्थित नक्खु कारागारमा छन्।