काठमाडौँ । दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रसाईँलाई हिरासतमा राख्न ४ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको हो ।
मेडिकल व्यवसायी प्रसाईंलाई प्रहरीले गएराति उनकै निवास पुगेर पक्राउ गरेको थियो। प्रसाईं मंसिर दोस्रो सातादेखि आन्दोलन गर्ने भन्दै त्यसको तयारीमा लागेको अभिव्यक्ति दिँदै आइरहेका थिए। उनीमाथि शान्ति सुरक्षामा खलल पुर्याएको आरोप छ। सोमबार मध्यराति प्रहरीको टोली उनको घरमा पुगेको थियो।
प्रसाईँमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइने भएको छ । यता दुर्गा प्रसाईँलाई पक्राउ गरेको विरोधमा उनका समर्थक प्रदर्शनमा उत्रिएका छन् । प्रसाईँका समर्थकले जिल्ला प्रशासन कार्यालय काठमाडौंअघि अहिले नाराजुलुशसहित विरोध जनाइरहेका छन् । त्यहाँ प्रहरी बाक्लो संख्यामा परिचालन गरिएको छ । उनीहरूले प्रसाईँलाई छाड्नुपर्ने भन्दै दबाब दिइरहेका छन् ।
दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहाइको माग गर्दै नागरिक बचाउ महाअभियानले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई ज्ञापन पत्र बुझाएको छ। अभियानका सदस्यहरूले महाअभियानका केन्द्रीय अध्यक्ष प्रसाईंलाई गएराति कुनै जाहेरी र पक्राउ पुर्जीबिनै प्रहरीले पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन्।
'देश द्रोही, भ्रष्टाचारी, दलाल, तस्कर र हत्याराहरू खुलेआम ससम्मान हिडिहेको अवस्थामा अभियानका केन्द्रीय अध्यक्षलाई २४ घण्टाभित्रमा बिनासर्थ रिहाइको माग गर्दै यो ज्ञापनपत्र पेस गर्दछ,’ अभियानले भनेको छ, ’सो अवधिभित्र पनि उहाँको रिहाइ नभएमा भोलिबाट थप आन्दोलन र संघर्षका कार्यक्रमसहित अघि बढ्न अभियान बाध्य रहनेकुरा जानकारीका लागि अनुरोध छ।’ दुर्गा प्रसाई पक्राउ परेसँगै पुन नेपालको राजनीति तातेको छ ।
उनले दिएका अभिव्यक्तिलाई लिएर सरकार रुष्ट देखिन्थ्यो जसले गर्दा उनी पक्राउ परेका हुन । प्रसाईँलाई गएइराति भक्तपुरको ठिमीस्थित निवासबाटै पक्राउ गरिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँ र अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनीलाई पक्राउ गरेको थियो ।
आन्दोलन घोषणा गरेर भड्कापूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि उनलाई पक्राउ गरिएको हो। उनले ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने दाबी गर्दै आएका थिए । यतिमात्रै होइन देशको प्रतिष्ठासँगै जोडिएको एनपीएल समेत रोक्न उनले क्यानका अधिकारीहरूलाई चेतावनी दिएको सार्वजनिक भएको थियो ।