काठमाडाैं । नेपालको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट मंगलबार साइबर हमलाको शिकार बनेपछि सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले वेबसाइट ह्याक भएको पुष्टि गर्दै डाटा भने सुरक्षित रहेको प्रारम्भिक मूल्यांकनले देखाएको बताए। टेक्निकल टोलीले हाल पोर्टल पुनःसुचारु गर्ने प्रयास गरिरहेको छ।
साइट सुरुमा खोल्दा दूर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्न माग गरिएको सूचना देखिन्थ्यो, जुन अहिले हटाइएको छ। ह्याकर कुन स्थानबाट सक्रिय भएका हुन् भन्ने बारे अनुसन्धान सुरु गरिएको छ।
विभागका कर्मचारीका अनुसार ह्याक भएको यो पोर्टलमा राष्ट्रिय परिचयपत्रका संवेदनशील विवरणहरू भण्डारण गरिँदैन; यहाँ रहेका सामान्य कागजात मात्र सुरक्षित रूपमा रहेको दाबी गरिएको छ। यो घटना केही दिनअघि निर्वाचन आयोगले मतदाता नामावली संकलनलाई राष्ट्रिय परिचयपत्र विवरणसँग जोडेको घोषणा गरेपछि आएको हो।