ढाका । बंगलादेशको राजनीति फेरि एक गम्भीर कानुनी मोडमा पुगेको छ, जहाँ स्थानीय अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धका अपराधमा दोषी ठहर गरेको घोषणा गरेको छ। यो फैसला हसिनामाथि पछिल्ला वर्षहरूमा उठेको विवादको सबैभन्दा महत्वपूर्ण क्षणका रूपमा हेरिएको छ।
अदालतका अनुसार, गत वर्ष आरक्षण प्रणालीविरुद्ध सडकमा उत्रिएका विद्यार्थीहरूको आन्दोलन नियन्त्रण गर्न हसिनाले सुरक्षा निकायलाई कडा कारबाही गर्न प्रत्यक्ष निर्देशन दिएको प्रमाणित भएको छ।
अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (ICT) मा जारी सुनुवाइ न्यायाधीश गुलाम मुर्तजाको अध्यक्षतामा चलिरहेको छ, जहाँ न्यायाधीश मोहम्मद शफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरी सदस्यका रूपमा उपस्थित छन्।
तीन सदस्यीय इजलासले पूर्व प्रधानमन्त्रीलाई दोषी ठहर गर्दै आन्दोलनलाई दमन गर्न हसिनाले हेलिकोप्टरबाट बम खसाल्न आदेश दिएकोसमेत पुष्टि गरेको छ। अदालतले अहिले फैसलाको विस्तृत अंश सुनाइरहेकाले सजायको भाग भने अझै खुलाइएको छैन। अन्तिममा न्यायाधीशहरूले कस्तो दण्ड तोक्ने भन्ने अपेक्षासहित सुनुवाइ जारी छ।