काठमाडौँ- पत्रकारितासँगै समाजसेवामा सक्रिय रहेका चर्चित पत्रकार भोजराज थापा राजनीतिमा होमिने तयारीमा लागेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट आगामी निर्वाचनमा दाङ क्षेत्र नं. १ बाट चुनाव लड्ने गरी उनी राजनीतिमा आउने तयारीमा लागेका हुन्।
थापा र रास्वपाका शीर्ष तथा स्थानीय तहका नेताहरूबीच पछिल्ला दिनमा निरन्तर संवाद चलिरहेको बताइएको छ।
थापाले पछिल्लो समय नक्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेसँग पनि संवाद गरेका थिए।
स्रोतहरूको दाबी अनुसार, ‘संवाद अत्यन्तै सकारात्मक’ रहेकाले अब थापा पार्टीको औपचारिक निर्णयको प्रतीक्षामा छन्।
थापानिकट स्रोतका अनुसार उनी चुनावको तयारीमा जुटिसकेको बताइएको छ। पत्रकारितामार्फत समाजसँग लामो समयदेखि प्रत्यक्ष तथा परोक्ष संलग्नता राख्दै आएका थापाले दाङको स्थानीय राजनीतिक सन्दर्भ, भोटर बेस, संगठन विस्तार र सम्भावित प्रतिस्पर्धीहरूको विश्लेषणसमेत अघि बढाइसकेका छन्। पार्टीले अन्तिम कागजी प्रक्रिया पूरा गरेपछि उनी सार्वजनिक रूपमा चुनावी मैदानमा उत्रिने अनुमान गरिएको छ।
यस क्षेत्रबाट गत निर्वाचनमा हालको नेपाली कम्युनिस्ट पार्टी र त्यतिबेलाको नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरी विजयी भएका थिए। चौधरीले त्यतिबेला नेकपा एमालेकी नेतृ शान्ता चौधरीलाई पराजित गर्दै निर्वाचन जितेका थिए।
दाङ १ लाई वामपन्थी पकड रहेको क्षेत्रको रुपमा लिइन्छ। यस्तो अवस्थामा रास्वपाले सफल पत्रकारिताको पृष्ठभूमिबाट आएको, सार्वजनिक छवि बलियो रहेको व्यक्तिलाई अघि सार्ने तयारीलाई स्थानीय राजनीतिक समीकरणमा परिवर्तनको संकेतका रूपमा हेरिएको छ।
पार्टीले स्थानीय संगठन, क्षेत्रीय समितिहरू र केन्द्रीय कार्यालयबीच समन्वय गरी औपचारिक निर्णय गर्ने प्रक्रिया अघि बढाएको बुझिन्छ।
रास्वपाभित्रको अन्तिम छलफल केही दिनमै टुंगिने अपेक्षा गरिएको छ। थाति रहेको आन्तरिक सहमति बनेपछि पार्टीले थापालाई दाङ–१बाट लागि औपचारिक उम्मेदवार घोषणा गर्न सक्ने बुझिन्छ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ। यो सरकारले फागुन २१ गते निर्वाचन गराउने म्यान्डेट पाएको छ।
निर्वाचन आयोगले पनि चुनावको तयारी तीव्र भएको जनाएको छ। यसका लागि आयोगले दल दर्ताको काम जारी राखेको छ भने राजनीतिक दलसँग संंवाद पनि तीव्र बनाइरहेको छ।
दाङमा अहिले यसै चर्चाले राजनीतिक वातावरण तताएको छ- भोजराज थापा रास्वपाबाट उठ्छन् कि उठ्दैनन्, यही प्रश्नले स्थानीय चिया पसलदेखि सामाजिक सञ्जालसम्म रौनक थपिदिएको छ