काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र प्राप्त नागरिकका लागि मतदाता नामावली दर्ता प्रक्रिया अनलाइनमार्फत सहज बनाएको छ। अब मतदाता दर्ताका लागि नागरिकले निर्वाचन कार्यालय धाउन नपर्ने भएका छन्।
आजदेखि लागू भएको नयाँ प्रणालीअनुसार, राष्ट्रिय परिचयपत्रमा रहेका बायोमेट्रिक विवरण (औँठाछाप र तस्बिर) स्वतः मतदाता नामावली दर्तामा प्रयोग गरिनेछ। नागरिकले अब आफूलाई सहज हुने स्थानबाट अनलाइन फारम भरेपछि नाम दर्ता प्रक्रिया पूरा हुनेछ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार, आयोगले राष्ट्रिय परिचयपत्रको डेटाबेसमा भएको बायोमेट्रिक विवरणलाई अनलाइन आवेदनसँग जोड्ने निर्णय गरेको हो। “अनलाइनमा भरेको निवेदनलाई राष्ट्रिय परिचयपत्रसँग मिलाएर छानबिन गरी नामावली प्रकाशन गरिनेछ,” उनले बताए।
यो व्यवस्था जेनजी प्रतिनिधिहरूसँगको छलफलपछि बुधबार राति प्राविधिक तयारी पूरा गरी लागू गरिएको हो। आयोगले यो कदमले लामो लाइन र कागजी प्रक्रियाको झन्झट अन्त्य गर्ने विश्वास व्यक्त गरेको छ।
३० कात्तिकसम्म मतदाता नामावली दर्ताको समयसीमा तोकिएको छ, र अब केवल तीन दिन बाँकी छन्। ठूलो संख्यामा दर्ता गर्न बाँकी नागरिकका विवरण छुट्न सक्ने देखिएपछि सरकारले यो प्रणाली लागू गरेको हो।
जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुरप्रसाद भट्टराईले भने, “राष्ट्रिय परिचयपत्र भएका नागरिकलाई अब फोटो खिच्न वा बायोमेट्रिक दिन कार्यालय आउनु पर्दैन। परिचयपत्र नभएकाहरूले भने अनलाइन फारम भरेर बायोमेट्रिकका लागि उपस्थित हुनुपर्नेछ।”
