Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दा आज सुनुवाइमा

रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दा आज सुनुवाइमा

काठमाडाैं ।  सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दा आज (बिहीबार) उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा सुनुवाइ हुँदैछ।

अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार न्यायाधीश ओमप्रकाश अर्याल र बासुदेव आचार्यको संयुक्त इजलासमा पेशी तोकिएको हो। गत २० कात्तिकमा अदालतले ‘सुरु मिसिल’ (मुद्दासम्बन्धी मूल कागजात) माग गरेको थियो, जुन प्राप्त भएपछि आजको मिति निर्धारण गरिएको हो।

यसअघि १३ कात्तिकको सुनुवाइ जोशीका कानुन व्यवसायीको अनुरोधमा स्थगित भएको थियो। आजको पेशी हुने–नहुनेबारे भने अझै निश्चित छैन।

मुद्दाको प्रकृति एउटै भएकाले अदालतले लामिछाने र जोशीको फाइल एकैसाथ हेर्ने आदेश पहिले नै दिएको थियो। उनीहरूविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ।

लामिछानेले आफ्नो भागको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको जमानत पेस गरेका छन्। जोशीले पनि समान रकमको जमानत निवेदन दिएका थिए। तर, व्यक्तिगत बिगो निश्चित नभएकाले अदालतले दुवैलाई थुनामै राख्ने आदेश दिएको हो।

हाल लामिछानेलाई नख्खु कारागार सरुवा गरिएको छ भने जोशी भैरहवा कारागारमै छन्।