काठमाडौँ - सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि आज पेसी तोकिएको छ।
उच्च अदालत बुटवल–तुलसीपुरका सूचना अधिकारी रामबहादुर कुवरका अनुसार यो मुद्दा आजको पेसीमा परेको हो। गत हप्ता उच्च अदालतका न्यायाधीश ओमप्रसाद अर्याल र तेजनारायण पौडेलको इजलासले लामिछानेसम्बन्धी मूल मुद्दाको प्रतिलिपि झिकाउने आदेश दिएको थियो
सुप्रिम सहकारी बुटवलमा भएको ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफूले सहकारीमा अपचलन गरेको भनिएको रकममध्ये आफ्नो भागको रकम दाखिला गर्नेसहित बैंक जमानत निवेदन दर्ता गराएका थिए। तर रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको रिहाइ अस्वीकार गरेको थियो।
जिल्ला अदालतको उक्त आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा पुनरावेदन दिएका थिए। यसअघि पनि सहकारी ठगीसम्बन्धी मुद्दा अभियोगपत्रसहित लगाउमा राखेर हेरिँदै आएको छ।
सुप्रिम सहकारी प्रकरणमा लामिछानेसहितका प्रतिवादीहरूविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ। लामिछानेले सो बिगो रकमको चार भागमध्ये आफ्नो एक भाग बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ दाखिला गरेको दाबी गर्दै बैंक जमानतसहित कागजात पेस गरेका थिए।
यस प्रकरणमा रवि लामिछानेमाथि तत्कालीन राज्यले प्रतिशोध साँधेको भन्दै विभिन्न टिकाटिप्पणी पनि हुँदै आइरहेको छ।