Shares
Shares
काठमाडौँ- सुरुमा मन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीमा आबद्ध हुने भनिए पनि अन्तिममा नअटाएकी पूर्वमन्त्री सुमना श्रेष्ठले ‘म अवसरवादी’ कविता लेखेकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अलग भएकी उनलाई अवसरवादी भन्ने आरोप लागेपछि ‘महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘पागल’ कविताबाट प्रेरित भएर’ कविता लेखेकी हुन्।
त्यसमा उनले भनेकी छन् हो, ‘म अवसरवादी हुँ।’
यस्तो छ उनको कविता:
म अवसरवादी!
हो, म अवसरवादी हुँ,
जनताको पीडामा मलम लगाउन खोज्नु,
अन्धकारमा आशाको बत्ती बाल्न खोज्नु,
न्यायको बाटोमा सत्यको साथमा हिँड्नु,
अवसर हो भने, त्यो अवसर म रोज्छु!
हो, म अवसरवादी हुँ,
किनकि म सुशासन खोज्छु,
किनकि म विधिको शासनको सम्मान गर्छु,
किनकि मलाई जनताको आँसु सुकाउनु छ,
र मलाई थाहा छ,
यो परिवर्तनको घडी, कसैले रोकिदियो भने,
फेरि भ्रष्टहरूको दिन आउनेछ, सर्वत्र अँध्यारो छाउनेछ।
तिमीहरू मलाई हाँसोमा उडाउन सक्छौ,
“अवसरवादी!” भनेर चिच्याउन सक्छौ,
तर म मौन रहन्नँ,
किनभने मनौता पनि स्वीकृति हो।
मौनता पनि अपराध हो।
म अवसरवादी हुँ,
शब्दमा होइन, संकल्पको अर्थमा।
म चाहन्छु अवसर, देशलाई फेरि उठाउने,
युवालाई आस्था दिलाउने,
राजनीतिलाई जनसेवा बनाउने।
यदि सेवा गर्नु अपराध हो भने,
म त्यो अपराध स्वीकार्छु।
यदि परिवर्तनमा विश्वास राख्नु पागलपन हो भने,
म पागलपन स्वीकार्छु।
किनकि मैले देखेको छु,
बढ्दो भिडमा बारुदी आँखा,
लाचार आमा, रित्तो काँख
र मानेको छु- देश मरेको छैन,
देश त केवल निदाएको छ।
त्यसैले हो, म अवसरवादी हुँ,
सपनाको पुनर्जन्मको अवसर खोज्दै
जब एकदिन, यो देश बिउँझन्छ,
त्यो बिहानको घामसँगै
मेरो नाम “अवसरवादी” करार हुँदा पनि,
सबै भन्दा खुसी मै हुनेछु।
“अवसरवादी” सुमना श्रेष्ठ
(महाकवि लक्ष्मीप्रसाद देवकोटाको “पागल” कविताबाट प्रेरित)
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209