काठमाडौं । मातृभूमी जागरण अभियान चलाइरहेका भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन्।
बुधबार ७ बुँदे सहमति गरी रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन्। पार्टीमा उनको वरीयता छैटौं कायम रहने यसअघि नै सहमति भइसकेको छ। सहमति पत्रमा संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र रावलले हस्ताक्षर गरेका छन्। तर अहिले देश अत्यन्त विषम् परिस्थिति र जटिल समस्याहरुको सामना गरिरहेको अवस्थामा राष्ट्रिय स्वाधीनता, अखण्डता र स्वाभिमानको रक्षा तथा देशलाई सबल र जनतालाई समृद्ध तुल्याउनु पर्ने चुनौती रहेको सहमति पत्रमा उल्लेख छ। नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन हस्ताक्षर गरेपछि बोल्दै अब पार्टी संगठनलाई बलियो बनाएर लैजाने बताए । उनले नेकपा विभाजनको प्रसङ्ग पनि सम्झिए ।
उनले भने,‘जुन बेला नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिक्रियावादीहरूले आफ्नो निहित स्वार्थ पूरा गर्नको लागि विभाजन गरेर गह्रौँ मन लिएर यही ठाउँबाट छुट्टिएर गएका थियौँ । आज फर्किएर नेपाली कम्युनिस्ट पार्टी अन्तरगत यहाँ छौँ । त्यो बिछोडको आलो घाउमा मलहम लागेको महसुस भइरहेको छ ।’ सम्झौतामा ६ महिनाभित्र राष्ट्रिय एकताको महाधिवेशन गर्ने, सामूहिक नेतृत्व प्रणाली हुने र रावलको जिम्मेवारी चाँडै टुंग्याउने उल्लेख गरिएको छ। आजै नेपाली कम्युनिस्ट पार्टी र रावल नेतृत्वको अभिायनबीच एकताको घोषणा गर्न औपचारिक कार्यक्रम आयोजना गरिएको छ।
'देश र जनताको सर्वोपरी हित एवं सुशासन, सामाजिक न्याय र आर्थिक–सामाजिक रुपान्तरणको अभिभारा छ। यही यथार्थलाई मनन गर्दै नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियान, नेपालका बीच देशभक्ति तथा समाजवादको आदर्शयुक्त सशक्त र सुदृढ पार्टी निर्माण गर्न निम्नलिखित सहमतिका साथ संगठनात्मक एकीकरणमा सहमत भएका छौं,’ सहमतिपत्रमा उल्लेख छ।
सहमति पत्रमा नेपाल र नेपाली जनताको सर्वोपरि हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता र आत्मनिर्णयको अधिकारको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै बाह्य हस्तक्षेप र दबाबमुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र र संस्कृतिको मार्गमा अघि बढ्ने अठोट पनि व्यक्त गरिएको छ।
दुवै पक्षले समाजवाद र सामाजिक न्यायमा आधारित आर्थिक–सामाजिक रूपान्तरण र समृद्धिको अभियानलाई संयुक्त रूपमा अघि बढाउने सहमति जनाएका छन्। पार्टी सञ्चालनका सन्दर्भमा लोकतान्त्रिक मान्यता, सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको सिद्धान्तलाई अङ्गीकार गर्दै काम गर्ने उल्लेख गरिएको छ।सहमति अनुसार मातृभूमि जागरण अभियान अन्तर्गतका सबै तहका कार्यकर्ताहरूलाई नेपाली कम्युनिस्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिमा समायोजन गरिनेछ। त्यस्तै, डा. भीम रावलको जिम्मेवारी तथा भूमिकाबारे पनि आपसी सहमतिबाट टुङ्गो लगाइने उल्लेख गरिएको छ।