काठमाडाैं । राणाविरोधी आन्दोलन, प्रजातान्त्रिक विद्रोह र गणतन्त्र स्थापनासम्म नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेसको योगदान निर्णायक रह्यो। राजतन्त्रको अन्त्य, जनअधिकारको पुनर्स्थापना र संसद् विघटनपछि संविधान जोगाउन पनि कांग्रेस अग्रणी शक्तिका रूपमा रह्यो। तत्कालीन सरकारले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पक्राउ गर्न खोज्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले “लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्र हुन्छ” भन्दै उक्त कार्य रोकेको पनि धेरै पुरानो कुरा होइन। तर लोकतान्त्रिक अभ्यास गर्दै आएको कांग्रेसभित्र नै यतिबेला लोकतन्त्रको मूल मूल्य नै खतरामा परेको देखिन्छ।
पार्टीभित्र असहमति र वैकल्पिक मत राख्नेलाई आक्रमण गर्ने र मौन गराउने प्रवृत्ति बढ्दै गएको देखिन्छ। हालै पार्टीभित्रको आन्तरिक लोकतन्त्र र आत्मसमीक्षाको कुरा उठाउने केही नेतामाथि आक्रमण भएपछि कांग्रेसभित्र स्वतन्त्र आवाज दबिँदै गएको सन्देश बाहिर गएको छ।
पछिल्लो समय नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य कुन्दन काफ्ले ले “व्यक्तिवादभन्दा संगठन बलियो बनाउनुपर्छ” भन्ने विचार व्यक्त गर्दा उनीमाथि पार्टीभित्रैबाट आक्रमण भइरहेको कांग्रेस नेताहरू बताउँछन्। संगठनात्मक मूल्यहरू ओझेलमा परिरहेको यस घडीमा, व्यक्तिवादी नभई संगठनमुखी र विचारप्रधान हुनुपर्नेमा त्यस्तो मत राख्ने काफ्लेजस्ता नेताहरू आलोचनाको निशानामा पर्नु, र संगठनभन्दा ठूलो व्यक्ति बन्ने राजनीतिले दलको अस्तित्व नै खतरामा पार्दै गएको छ। आज कांग्रेसले आफ्नो दिशा सावधानीपूर्वक रोज्नुपर्ने अवस्था आएको छ।
महामन्त्रीहरू पदको मोहले आन्तरिक विवादमा तानिँदा, यसले कांग्रेस ठूलो राजनीतिक दुर्घटनातर्फ धकेलिने संकेत देखिएको छ। देशमा लोकतन्त्रको शिक्षा दिने पार्टीभित्रै लोकतन्त्र कति जीवित छ भन्ने प्रश्न पछिल्लो घटनाक्रमले अझ बलियो बनेको छ।
कांग्रेसको गौरवमय इतिहासमा विचारका भिन्नता सम्मान हुने परम्परा थियो। तर अहिले असहमति व्यक्त गर्नेसम्म पनि व्यक्तिगत आक्रमण र गुटगत द्वन्द्वको विषय बन्दै गएको देखिन्छ।
देश संक्रमणको मोडमा छ, जनता दिशानिर्देश खोजिरहेका छन्। यतिबेला जनताले अझै पनि लोकतन्त्रको मेरुदण्ड कांग्रेसमै देखेका छन्। तर पदीय राजनीति र नेतृत्वका लागि हुने कलहभन्दा पर, चुनावी एजेन्डाका लागि सांगठिनिक रूपमा एक ठाउँमा उभिनुपर्ने समयमा व्यक्तिवादी राजनीतिले कांग्रेस र देश दुवैलाई जोखिममा पुर्याएको छ।
जेन–जेड आन्दोलनपछि भने कांग्रेसलाई जनभावना जितेर अघि बढ्न कठिन भएको देखिएको छ। यस्तो अवस्थामा कांग्रेसभित्रै मत विभाजन भइरहँदा समस्या अझ गहिरो हुँदै गएको छ। केही नेता विशेष महाधिवेशनको माग गर्दै छन् भने केही आगामी निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।
कांग्रेसले यो विषम परिस्थितिमा जनभावनालाई समेट्न नसके पार्टीको साख र अस्तित्व नै समाप्त हुने खतरा निश्चित छ।