काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नयाँ पार्टी खोल्ने तयारी गरेका छन्। बालेनले सचिवालय सदस्यहरूमार्फत ‘देश विकास पार्टी’ नामको पार्टी दर्ताको तयारी गरेको बुझिएको छ। उनको पार्टी बुधबारसम्म दर्ता हुने स्रोतले दाबी गरेको छ।
बालेनले पार्टी नै खोलेर जाने तयारी गरेका हुन्। उनले जेन–जेड (Gen Z) लाई विशेष रूपमा आफ्नो पार्टीमा भित्र्याउने तयारी गरेका छन्। त्यहीअनुसार नै उनी छलफलमा जुटेको बताइएको छ। यसअघि बालेन कुलमान घिसिङसँगै मिलेर जाने तयारीमा रहेका थिए। तर अहिले भने बालेन आफ्नै पार्टी निर्माणको तयारीमा जुटेका छन्। अब आउने निर्वाचनमा भाग लिने गरी बालेनले पार्टी खोल्ने गृहकार्य गरिरहेका छन्।
उनलाई जेन–जेड साथै अन्य युवाको पनि साथ रहेको बुझिएको छ। आफ्नै सचिवालय सदस्यहरूमार्फत बालेन राजनीतिक दल खोल्न तयार भएका हुन्। सुदीप ढकालको संयोजकत्वमा पार्टी दर्ता हुने तयारीमा छ भने चुनाव चिन्ह ‘लौरो’ प्रस्ताव गरिएको छ। यद्यपि यो चुनाव चिन्ह अहिले ‘हामी नेपाली पार्टी’सँग छ। यस विषयमा आयोगले के गर्छ भन्ने कुरा पनि बाँकी नै छ।
कुलमानले पनि बालेनलाई समेट्ने प्रयास गरे पनि बालेनसँग कुरा मिलेको छैन। यता कुलमान घिसिङ ‘उज्यालो नेपाल पार्टी’ दर्ता गर्न निर्वाचन आयोग जाने तयारीमा छन्। जसका लागि उनको टिम आज या भोलि निर्वाचन आयोग जाने भएको छ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री रहेका कुलमान घिसिङले पार्टी गठनका लागि केही समयदेखि गृहकार्य थालेका थिए। पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने र चुनाव चिन्ह ‘बिजुलीको चिम’ राख्ने सहमति जुटेसँगै आज दल दर्ताका लागि निवेदन दिन लागेको बताइएको छ।
यसअघि साउन २७ गते नै यो पार्टी दर्ताका लागि ज्ञानबहादुर तामाङले निर्वाचन आयोगमा निवेदन दिएका थिए। तर आयोगले थप विवरण उपलब्ध गराउन भनेको थियो। उपाध्यायलाई संयोजक तोकेर ५१ जना केन्द्रीय सदस्यसहित पार्टी दर्ताका लागि निवेदन दिने तयारी भइरहेको छ।
रास्वपा छाडेकी निवर्तमान प्रतिनिधिसभा सांसद सुमना श्रेष्ठ पनि यो पार्टीमा सहभागी हुने कुरा अघि बढेको थियो। तर उनले कुलमानलाई सधैं आफ्नो साथ रहेको तर उनको पार्टीमा तत्काल नजाने बताएकी छिन्। धेरैले सुमना बालेनको पार्टीमा जाने तयारीमा रहेको बताउँदै आएका छन्। बालेनले सुदन, सुमना लगायतको साथ खोजिरहेका छन्।