काठमाडौँ - आगामी निर्वाचनमा सहभागी हुन नयाँ राजनीतिक दल दर्ता गराउने आयोगको समयसीमा सकिन अब एक हप्ता मात्र बाँकी छ। निर्वाचन आयोगले दल दर्ताका लागि कात्तिक ३० गतेसम्मको म्याद तोकेको छ, र यसबीचमा नयाँ दल दर्ताका आवेदनहरू धमाधम पर्न थालेका छन्।
तर, भदौ २३ र २४ गतेको आन्दोलनका आधारमा बनेको अहिलेको सरकारलाई समर्थन गर्ने जेनजी समूह भने अन्योलमा परेका छन्। उनीहरूबीच नयाँ दल खोलेर निर्वाचनमा जाने कि अरू दल वा व्यक्तिलाई समर्थन गर्ने भन्ने विषयमा मतैक्य हुन सकेको छैन।
आन्दोलनपछि विभिन्न धारमा विभाजित देखिएका जेनजीहरू निर्वाचनका सन्दर्भमा अझै एकमत बन्न नसकेका हुन्। केही समूहले नयाँ दल दर्ताको तयारीमा ढिलाइ गरिरहेका छन् भने केहीले नयाँ दल नखोली राम्रा र स्वच्छ छविका व्यक्तिलाई समर्थन गर्ने धारणा अघि सारेका छन्।
जेनजी नेतृ रक्षा बमले आफूहरूले नयाँ दल खोलेर प्रतिस्पर्धा गर्ने सोच नराखेको बताइन्। “पुरानालाई होइन, राम्रो काम गर्न खोज्ने नयाँ पुस्तालाई अवसर दिनुपर्छ,” उनले भनिन्।
त्यस्तै, अर्का जेनजी अगुवा रिजन राना मगरले राजनीति भन्दा पनि सडक केन्द्रित खबरदारीको भूमिकामा रहनुपर्ने बताए। उनका अनुसार, “सबैले राजनीतिमा होमिनुपर्छ भन्ने होइन। समाजमा बलियो लोकतान्त्रिक र खबरदारी गर्ने समूह पनि आवश्यक हुन्छ, त्यसैले हामी सरकारलाई ध्यानाकर्षण गराउने भूमिकामा रहन चाहन्छौँ।”
जेनजी प्रतिनिधि गौरव पाण्डेले पनि स्वच्छ छविका, समाजसेवी र सकारात्मक सोच भएका व्यक्तिहरूलाई समर्थन गर्ने बताए। उनका शब्दमा, “अहिले हामी दल दर्ता गर्दैनौँ, बरु योग्य र इमानदार व्यक्तिलाई समर्थन गर्छौँ।”
उता, आन्दोलनका सहभागी पुरुसोत्तम यादवले भने आन्दोलन संस्थागत बनाउने कार्य प्राथमिकता भएको र त्यसमा ढिलाइ भएकै कारण निर्वाचनबारे निर्णय टरेको बताए। उनले थपे, “आन्दोलनलाई संस्थागत गर्ने, घाइते र सहिद परिवारका लागि आयोग गठन गर्ने प्रक्रिया चलिरहेको छ। त्यो टुंगिएपछि मात्रै निर्वाचनबारे अन्तिम निर्णय हुनेछ।”