Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एमालेले मधेशबाट आगो झोसेर चुनाव भाँड्दैछ

एमालेले मधेशबाट आगो झोसेर चुनाव भाँड्दैछ

काठमाडौँ- मधेश प्रदेशमा आइतबार राति नाटकीय रूपमा सत्ता परिवर्तन भएको खुलेको छ। प्रदेश प्रमुख सुमित्रा भण्डारीले राति ११ बजे नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

यसअघि राति १० बजे नेपाली कांग्रेससहित सात दलले प्रदेश प्रमुखलाई नयाँ सरकार गठनका लागि लिखित ध्यानाकर्षण पत्र बुझाएका थिए। तर, केही समयमै प्रदेश प्रमुख भण्डारीले एमालेका नेता यादवलाई बोलाएर मुख्यमन्त्री नियुक्त गरेको पत्ता लागेको हो।

नवनियुक्त मुख्यमन्त्री यादवका अनुसार, “प्रदेश प्रमुखले राति ११ बजे निवासमा बोलाएर नियुक्तिपत्र दिनुभयो। त्यही रात शपथग्रहण कार्यक्रम तय गरिएको थियो, तर प्रदेश प्रमुख कार्यालय अगाडि विरोध बढेकाले तत्काल शपथ लिन सम्भव भएन।”

मुख्यमन्त्री यादवले बताएअनुसार, त्यसपछि प्रदेश प्रमुखले स्वास्थ्य ठीक नभएको भन्दै काठमाडौं जाने तयारी गरेकी थिइन्। आफूले शपथ नगराई काठमाडौं जान नदिन आग्रह गरेपछि भण्डारीले काठमाडौं जाँदै गर्दा बर्दिवासको पानस होटलमा शपथ गराएको यादवको भनाइ छ।

प्रदेश प्रमुख भण्डारीले काठमाडौं जानुअघि निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनललाई पनि फोन गरी आफ्नो स्वास्थ्य अवस्थाको कारण देखाउँदै बिदाइका लागि आग्रह गरेकी थिइन्। सोनलले आफ्ना समर्थकहरूलाई प्रदेश प्रमुख कार्यालयबाट हटाएर उनलाई फूलमाला लगाई बिदाइ गरेका थिए। तर, आधा घण्टापछि एमालेका यादव मुख्यमन्त्री नियुक्त भई शपथग्रहण गराएको समाचार सार्वजनिक भयो।

यो घटनापछि मधेश प्रदेशमा राजनीतिक तापमान तीव्र बनेको छ। एमालेबाहेकका दलहरू सडकमा उत्रिएका छन् भने विभिन्न स्थानमा तोडफोडका घटनाहरू भइरहेका छन्। विपक्षी दलहरूले प्रदेश प्रमुखमाथि एमालेको दबाबमा संवैधानिक प्रक्रिया विपरीत निर्णय गरेको आरोप लगाएका छन्।

एमालेले मधेशमा अस्थिरताको आगो झोसेर चुनाव भाँड्न सक्रियता देखाएको टिप्पणी पनि भइरहेको छ।