काठमाडाैं । मधेस प्रदेशको नयाँ मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति बदर गर्न नेपाली कांग्रेस नेतृत्वको सात दलीय गठबन्धन अदालत जाने भएको छ।
गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी लगायतका दल छन्। उनीहरूले संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको विरोध जनाउँदै आएका छन्।
निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले भने, “सातै दलका नेताहरू र सांसदहरू बसेर छलफल गरियो। अब अदालत र अन्य कानुनी उपाय सबै ठाउँमा सँगै जाने निर्णय गरेका छौं। प्रदेश प्रमुखबाट गैरसंवैधानिक काम भएको छ।”
प्रदेश प्रमुख सुमीत्रा सुवेदी भण्डारीले सोमबार राति बर्दिवासको पानस होटलमा यादवलाई शपथ ग्रहण गराएकी थिइन्।
यस निर्णयविरुद्ध ७ दलका नेता तथा कार्यकर्ताले मुख्यमन्त्री र प्रदेश प्रमुखको कार्यालयमा तोडफोड, तालासमेत लगाउने र कर्मचारीमाथि हातपात गर्ने कार्यक्रम सञ्चालन गरिरहेका छन्। गठबन्धनको तर्क अनुसार, संविधानको धारा १६८ (२) अनुसार सरकार गठन र समर्थन जुटिसकेको अवस्थामा प्रदेश प्रमुखले एमाले संसदीय दलका नेतालाई शपथ गराउनु गैरसंवैधानिक छ।