काठमाडाैं । मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकातर्फ पानी आपूर्ति चार दिनदेखि रोकिएको छ। आफ्ना मागहरू पूरा नभएको भन्दै स्थानीयवासीले हेलम्बु गाउँपालिका–१, अम्बाथानस्थित सुरुङ बन्द गरेका हुन्।
मेलम्ची बाढी पीडित संघर्ष समिति, स्थानीय राजनीतिक दलहरू र वासिन्दाले गत असोज २१ गते तत्कालीन खानेपानीमन्त्री प्रदीप यादव र सचिव प्रमिलादेवीबीच भएको १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै आन्दोलन थालेका हुन्।
संघर्ष समितिका सदस्य विष्णु खड्काका अनुसार आइतबार सिंहदरबारमा भएको छलफल निष्कर्षविहीन भएपछि सोमबार प्रधानमन्त्री र अर्थमन्त्रीसँग परामर्श गरेर पुनः वार्ता गर्ने सहमति भएको छ।
मेलम्ची खानेपानी तथा बाढीपीडित संघर्ष समितिका प्रतिनिधि राजकुमार भण्डारीका अनुसार मुख्य सुरुङ पुनः खोल्न खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विगतमा भएका सहमति कार्यान्वयनका मागसहित सोमबार ११ बजेबाट छलफल सुरु गरिएको छ ।
स्थानीयले मेलम्ची आयोजना खर्च सार्वजनिक गर्न, सडक कालोपत्रे गर्न, १५ प्रतिशत रोजगारीको आरक्षण र २५ प्रतिशत पानी लेवी स्थानीय क्षेत्रमा लगानी गर्न माग गरेका छन्। साथै, बाढीपीडितको वास्तविक तथ्यांक संकलन र राहत वितरणको माग पनि उठाइएको छ।
संघर्ष समितिले माग पूरा नभएसम्म पानी नखोल्ने अडान लिएको छ। उनीहरूले राजधानीवासीलाई असुविधा भए पनि यो कदम “रहर होइन, बाध्यता” भएको बताएका छन्।