काठमाडाैं । मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिपछि राजनीतिक तनाव उग्र बनेको छ। प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले सोमबार बिहान संविधानको धारा १६८(३) अनुसार एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि सात राजनीतिक दलहरू सडकमा उत्रिएका छन्।
पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नलिएर राजीनामा दिएपछि कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनको माग गरेका थिए। तर भण्डारीले ठूलो दलको हैसियतमा एमालेका यादवलाई नियुक्त गरेपछि ती दलहरूले निर्णयलाई असंवैधानिक भन्दै विरोध थालेका हुन्।
नवनियुक्त मुख्यमन्त्री यादव मधेश भवन प्रवेश गर्न लाग्दा सात दलका सांसद र कार्यकर्ताहरूले गेटमै अवरोध गर्दै टायर बालेर प्रदर्शन गरेका छन्। प्रदर्शन तीव्र बन्दै जाँदा सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा पनि स्थिति तनावग्रस्त बनेको छ।
स्थिति झन् चर्किँदै गएपछि आज बिहान कांग्रेससहितका केही सांसदले मुख्यमन्त्रीको कार्यकक्षमा पुगेर तोडफोड गरेका छन्। एक सांसदले राष्ट्रिय झन्डा निकालेर फालेका छन् भने अर्काले कुर्सी फालेका छन्। तोडफोडबाट कार्यकक्षमा सामान्य क्षति पुगेको बताइएको छ।
त्यसैगरी, प्रदेश प्रमुखको कार्यालय अगाडि पनि प्रदर्शन र तोडफोड भएको छ। विरोधी सांसदहरूले प्रदेश प्रमुख भण्डारीको राजीनामाको माग गर्दै बोर्ड र गमलाहरूमा क्षति पुर्याएका छन्।