काठमाडौँ । मनाङमा ३ कात्तिकदेखि बेपत्ता रहेका दुई भारतीय बाबु-छोरीको शव आइतबार दिउँसो करिब २ बजे सशस्त्र प्रहरीले फेला पारेको छ। मृतकहरू ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र उनकी १७ वर्षीया छोरी प्रियन्साकुमारी पटेल हुन्।
दुवै व्यक्ति ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट ३ कात्तिकमा ङिस्याङ–५ मलेरिपा गुम्बा घुम्न जाने भन्दै हिँडेका थिए। तर त्यसयता उनीहरू सम्पर्कविहीन भएका थिए।
सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजीका लागि उक्त होटलले सशस्त्र प्रहरी बल र नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो। प्रारम्भिक खोजी कार्यबाट उनीहरू फेला नपरेपछि, २३ कात्तिकमा सशस्त्र प्रहरी नायब उपरीक्षक हिराबहादुर जिसीको नेतृत्वमा उद्धार टोली खटाइएको थियो।
माउन्टेन रेस्क्यु तालिम प्राप्त टोलीले शव मलेरिपा गुम्बाबाट करिब सय मिटर माथि, हिउँले पुरिएको अवस्थामा फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
प्रहरी घटनास्थलमा थप अनुसन्धान गर्दैछ, र मृतकहरूको शव सुरक्षित रूपमा घरतर्फ पठाइने तयारी भइरहेको छ।