Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

फागुनको चुनावका लागि रास्वपाले आह्वान गर्यो समानुपातिक उम्मेदवार, यसअघिकाले उम्मेदवारी दिन नपाउने

फागुनको चुनावका लागि रास्वपाले आह्वान गर्यो समानुपातिक उम्मेदवार, यसअघिकाले उम्मेदवारी दिन नपाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फको उम्मेदवारी आह्वान गरेको छ। शनिबार सम्पन्न विस्तारित बैठकले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारी आह्वान गरेको हो। 
 
रास्वपाका प्रवक्ता मनीष झाका अनुसार  सहमहामन्त्री विपिनकुमार आचार्यले प्रस्तुत गरेको उम्मेदवार छनोट रूपरेखामा आधारित रहेर उम्मेदवारी आह्वान गरिएको छ। 

रास्वपाले उम्मेदवार हुनका लागि केही मापदण्ड पनि सार्वजनिक गरेको छ। जस अन्तर्गत २०७९ को प्रतिनिधिसभामा समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेका पार्टी सदस्यहरूले २०८२ फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवारी दिन नपाउने व्यवस्था पनि गरेको जनाइएको छ।

यस्ता छन् ५ मापदण्ड 

(क) उम्मेदवारी दिने योग्यातामा केही कुराहरू थप्दै सार्वजनिक पदको दुरुपयोग नगरेको स्वघोषणा, शैक्षिक प्रमाणपत्रको प्रमाणीकरणको स्वघोषणा, वैवाहिक अवस्थाको वैध स्पष्टताको स्वघोषणा, सार्वजनिक रूपमा प्रमाणित (अनलाइनसहित) घृणात्मक अभिव्यक्ति, दुर्व्यवहार/धम्की, जात–लिंग आधारमा अपमान वा कमजोर समूहको शोषण जस्ता आचरण नगरेको स्वघोषणा र आफूले परिवारको वा एकै घर सदस्यले आफ्ना आधारभूत आवश्यकताहरू आफू प्रतिनिधिसभा सदस्य हुँदासम्म स्थिर रूपमा पूरा गर्न सक्ने नियमित र पारदर्शी आम्दानी स्रोतको स्वघोषणालाई अनिवार्य बनाएको छ।

(ख) उम्मेदवार छनोट प्रक्रियाको ५० प्रतिशत भाराङ्क बोक्ने प्रारम्भिक निर्वाचन (मतदाता नामावली, मतदान, मतगणना, नतिजा प्रकाशन तथा सम्बन्धित निर्णयहरू) सम्पूर्ण रूपमा पारदर्शी, विधिसम्मत र निष्पक्ष भएको/नभएको तथ्यपरक रूपमा मूल्याङ्कन गर्न पार्टीले अडिट समिति पनि बनाउने भएको छ।

(ग) परम्परागत समानुपातिक बन्दसूचीको खाकालाई थप उन्नत, वैज्ञानिक र वस्तुपरक बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानले निर्दिष्ट गरेको जातीय क्लस्टर मात्र नभई क्लस्टरमा आधारित जनसांख्यिक प्रादेशिक अनुपात र २०७९ को आम निर्वाचनमा पार्टीले प्राप्त गरेको समानुपातिक मतको प्रादेशिक अनुपातका आधारमा ११० जना उम्मेदवारको बन्दसूचीको खाका निर्माण गरेको छ। यो व्यवस्थाले प्रदेशको समानुपातिक प्रतिनिधित्व मात्र सुनिश्चित गरेको छैन, प्रदेशको क्लस्टरमा आधारित जनसांख्यिक अनुपातलाई पनि सम्बोधन गरेको छ।

(घ) जेन–जी (न्भल–श्) को स्पिरिटको प्रतिनिधित्वलाई समानुपातिक बन्दसूचीमा समेट्दै २५ देखि ४० वर्षबीचका युवाका लागि उनीहरूको जनसङ्ख्या अनुपातकै आधारमा २७% प्रतिनिधित्व सुनिश्चित गरिएको छ। त्यसैगरी, प्रवासबाट उम्मेदवार बन्न फर्किने नेपालीका लागि १०% प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

(ङ) २०७९ को प्रतिनिधिसभामा समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेका पार्टी सदस्यहरूले २०८२ फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवारी दिन नपाउने व्यवस्था पनि पार्टीले गरेको छ।