काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गरिने भएको छ । प्रहरी प्रधान कार्यालयले फागुन २१ का लागि तय भएको चुनावका लागि कम्तीमा १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने बताएको हो । म्यादी भर्ना भए उनीहरूलाई तालिम, पारिश्रमिक, भत्ता, पोसाकलगायतमा ४ अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान छ ।
आमनिर्वाचन २०७९ को सुरक्षा व्यवस्थापनलाई आधार मानेर सुरक्षा रणनीति बनाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।आसन्न चुनाव लक्ष्य गरेर नेपाली सेनाका सहायक रथीको नेतृत्वमा प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारी सम्मिलित निर्वाचन सुरक्षासम्बन्धी एकीकृत कार्यदल बनिसकेको छ । त्यस्तै सहसचिव आनन्द काफ्लेको संयोजकत्वमा गृह मन्त्रालयले पनि निर्वाचन सुरक्षासम्बन्धी छुट्टै कार्यदल बनाइसकेको छ ।