काठमाडौं । अभियन्ता खगेन्द्र सुनारले दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । आफ्नै नेतृत्वमा दल दर्ताका लागि सुनारले आयोगमा निवेदन दिएका हुन्।
उनले दलको नाम ‘हाम्रो नेपाल’ प्रस्ताव गरेका छन्। पार्टीले चुनाव चिह्न गोलो घेराभित्र राम्रो जनाउने लाइक चिह्न प्रस्ताव गरेको छ । आयोगले पनि दल दर्ताका लागि निवेदन आएको र अध्ययनकै क्रममा रहेको जनाएको छ।
दल दर्ताका लागि केन्द्रीय समितिको प्रमाणित विवरण, निर्णयहरू, प्रमाणित प्रतिवद्धतापत्र सहितको कागजात, समर्थकहरूको विवरण, विधान, दलको नियमावली र घोषणापत्र लगायतका कागजात आवश्यक पर्छ।
पाँच सय जनाको नागरिकताको प्रमाणपत्रसहित दल खोल्न सहमति जनाएको स्वघोषणा सहितको प्रतिवद्धता आवश्यक पर्छ । ति पाँच सय व्यक्ति कुन जिल्लाका हुन खुलाइएको हुन्छ । त्यसअनुसार निर्वाचन आयोगका सम्बन्धित जिल्ला कार्यालय पुगेर दल खोल्न समर्थन गर्ने व्यक्तिहरूले सनाखत गर्नुपर्छ ।
आयोगका अनुसार यसरी प्रत्येक जिल्लाबाट सनाखत भएपछि त्यसको आधारमा सम्बन्धित दल दर्ताको प्रक्रिया अगाडि बढ्छ र अन्य कागजात पुगेको खण्डमा दल दर्ता हुन्छ ।
आयोगका अनुसार यही कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ ।
अहिले सनाखतको प्रक्रिया चलिरहेको सुनारको पार्टी दर्तामा काम गरिरहेका रामबहादुर मिजारले जानकारी दिए।
सुनार उनै व्यक्ति हुन् जो वर्तमान सुशीला कार्की नेतृत्वको सरकारमा श्रम रोजगार मन्त्री बन्नै लागेका थिए। तर उनीबारे विभिन्न मिडियामा विभिन्न मुद्दा रहेको भन्ने समाचार सार्वजनिक भएपछि उनको नाम काटिएको थियो।
त्यसपछि उनले पत्रकार सम्मेलन नै गरेर मन्त्री बन्ने लिस्टमा आफ्नो नाम आएपछि नभएका कुराहरू लेखेर आफूलाई बदनाम गराएको गुनासो गरेका थिए।
सुनारले जाजरकोटका नवराज विकसहितको सामूहिक हत्या भएजस्तै मिडियाबाट आफ्नो सामूहिक हत्या भएको बताएका थिए।
आफू मन्त्रीको दौडमा हिजो पनि नरहेको र आज र भोलि पनि नरहने भन्दै सञ्चारमाध्यमबाटै मन्त्री बन्ने खबर पाएको उनले दाबी गरेका थिए।
उनले आफू अहिले पनि प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको पक्षमा रहेको पनि बताएका थिए। त्यसबेला उनलाई बहुविवाहसहितको आरोप लगाएर समाचारहरु सार्वजनिक भएका थिए।
आफूमाथि लागेको आरोप पुष्टि भएको खण्डमा हतकडी लगाएर लैजान उनले आग्रह गरे । उनले आफूमाथि भएको प्रहारले आफूलाई अझ बलियो र दह्रो बनाएको बताए ।