काठमाडौँ । सुप्रिम सहकारी ठगीको मुद्दामा बिगो बापतको धरौटी जमानत लिएर रिह गर्न माग गरेका रवि लामिछानेको निवेदनमा सुनुवाइ सुरु भएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा उनको निवेदन पेसी तोकिएको छ। इजलासको तेस्रो नम्बरमा पेसी तोकिएकोमा अगाडीका दुईवटा मुद्दाको आदेश आइसकेको छ। त्यसपछि लामिछानेको निवेदनमा सुनुवाइ सुरु भएको उच्च अदालत बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले बताए।
गत हप्ता २ जनाकै पेशी स्थगित भएको थियो । न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा दुवैको मुद्दा सुनुवाइका लागि चौथो नम्बरमा थियो। तर, जोशीका कानुन व्यवसायीले सुनुवाइ स्थगित गर्न अनुरोध गर्दै निवेदन दिएपछि लगाउमा रहेको लामिछानेको मुद्दाको सुनुवाइ पनि स्थगित भएको हो। बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले रिहा गर्न अस्वीकार गरेको थियो ।
जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । लामिछानेले जिल्लाको आदेश बदर गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ बमोजिम थुनामुक्तिको माग गर्दै मुद्दा दायर गरेका थिए। बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोग पत्र दायर गरिएको छ ।