काठमाडौँ । मोरङको जहदा गाउँपालिका–३ बाट लागू औषध गाँजा ओसारपसारमा संलग्न एम्बुलेन्स र चालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको प्रहरी टोलीले गएराति एम्बुलेन्स सहित दुईजना पक्राउ परेका हुन् । प्रहरीले स.१ च ६५६ नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा उक्त सवारीसाधनभित्र कालो झोलामा लुकाइछिपाई राखिएको अवस्थामा ३३ किलो ६१० ग्राम गाँजा बरामद गरेको जनाएको छ।
गाँजा बरामदसँगै प्रहरीले एम्बुलेन्स चालक विराटनगर–५ का ३२ वर्षीय दुर्गा प्रसाद राजवंशी र एम्बुलेन्ससँगै आएका मोटरसाइकल (को.३१ प ८८८९) चालक जहदा गाउँपालिका–३ का ३२ वर्षीय दिलिप कुमार राजवंशीलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार बरामद लागू औषध र पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको जनाएको छ ।