काठमाडौं । सहकारी ठगीसम्बन्धी रवि लामिछाने र छविलाल जोशीको मुद्दा उच्च अदालत तुलसीपुर–बुटवल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ।उच्च अदालत तुलसीपुर–बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासमा उनीहरूको मुद्दाको सुनुवाइ हुने भएको हो।
गत हप्ता दुवैजनाको पेशी स्थगित भएको थियो। न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा दुवैको मुद्दा सुनुवाइका लागि चौथो नम्बरमा थियो। तर, जोशीका कानुन व्यवसायीले सुनुवाइ स्थगित गर्न अनुरोध गर्दै निवेदन दिएपछि, लगाउमा रहेको लामिछानेको मुद्दाको सुनुवाइ पनि स्थगित भएको हो।
लगाउको मुद्दा भएकाले दुवैको सुनुवाइ आज हुँदै छ। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलन अनुसार आफ्नो भागको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रुपन्देहीमा रिहा गर्न अस्वीकार गरेको थियो। उक्त आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए।
लामिछानेले जिल्ला अदालतको आदेश बदर गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ बमोजिम थुनामुक्तिको माग गर्दै मुद्दा दायर गरेका थिए। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लगायतका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ।तर, लामिछानेले त्यसको चार भागमध्ये आफ्नो एक भाग बराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए।
उनले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसहित पेस गरेका थिए।लामिछानेजस्तै जोशीले पनि त्यत्तिकै बिगोबापतको जमानत पेस गरेका थिए। तर, दुवै प्रतिवादीको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश गरिएको थियो।रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सापकोटाको २६ साउनको इजलासले बिगो अस्वीकार गर्दै थुनामै पठाउने आदेश गरेको थियो।
त्यही आदेशविरुद्ध लामिछाने उच्च अदालत गएका हुन्। पुर्पक्षका लागि लामिछाने र जोशी दुवै हाल कारागारमा छन्।भैरहवा कारागारमा रहेका लामिछानेलाई पछि ललितपुरको नख्खु कारागारमा सरुवा गरिएको छ, भने जोशी भने भैरहवा कारागारमै छन्।
लामिछानेलाई आधारभूत सुविधा समेत नदिएको भन्दै आलोचना भएको थियो।मानव अधिकार आयोगको टोलीले अध्ययनपछि जेल सरुवा गर्न निर्देशन समेत दिएको थियो। सोही अनुसार उनलाई नख्खु ल्याइएको हो। नख्खुमा पनि भदौ २३ र २४ गतेको आन्दोलनपछि लामिछानेलाई जेलबाहिर निकालिएको थियो। चौतर्फी आलोचनापछि उनी पुनः नख्खु फर्किएका थिए। हिजो मात्रै सोही विषयमा छानबिन आयोगले उनको बयान लिएको छ।