काठमाडाैं । जेनजी आन्दोलनको क्रममा नख्खु कारागारमा कैदिबन्दी बाहिर निस्किएको तथा भागेको बिषयमा अहिले अनुसन्धान जारी छ । जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित आयोगले प्रहरी , तत्कालीन जेलर तथा रास्वपाका सभापति रवि लामिछानेसंग बयान लिई सकेको छ । आयोगले नख्खु कारागारका तत्कालीन जेलर सत्यराज जोशीको मोबाइल परीक्षणका लागि प्रहरीको डिजिटल फोरेन्सिक ल्याब (डीएफएल) मा पठाएको छ । अनुसन्धानको लागी भन्दै उनको फोन ल्याब पठाईएको हो ।
२४ गतेको आन्दोलनमा नख्खु सहित देशभरका विभिन्न कारागार तोडेर कैदी भागेका थिए । आयोगले शुक्रवार लिएको बयानका क्रममा उनले भदौ २४ गते नख्खु कारागारबाट रास्वपा सभापति रवि लामिछाने बाहिर निस्किएको डेढ घण्टापछि एक पत्रमा हस्ताक्षर गरेको स्वीकार गरेका थिए ।त्यसैले पनि उनको फोन ल्याबमा पठाएको स्रोतको दाबी छ । जोशीले लामिछानेको पत्रमा भएको हस्ताक्षर आफ्नै भएको स्वीकार गरेका छन् । तर, भिडको अवस्था रहेकाले पत्रमा रहेको व्यहोरा भने आफूले राम्रोसँग पढ्न नपाएको बताएका छन् ।
जोशी र लामिछानेको बयान धेरै हदसम्म मिलेको आयोग स्रोतले बतायो । हिजो सिंहदरबारमा रास्वपा सभापति लामिछानेलाई करिब ७ घण्टा बयान लिएर नख्खु कारागार फिर्ता पठाइयो । उनले घण्टौं बयान दिएका हुन। मध्यान्ह १ बजे उनलाई नख्खु कारागारबाट सिंहदरबार स्थित उच्चस्तरीय जाँचबुझ आयोगमा उपस्थित गराइएको थियो । उनको बयार र जोशिको बयान मिल्दो जुल्दो भए पछि अहिले अनुसन्धान गर्न भन्दै जोशीको मोबाईल ल्याबमा परिक्षणका लागी पठाइएको छ । जोशीले दिएको बयानको सत्यता परीक्षणसहित थप विवरण खुल्ने सम्भावनाका कारण मोबाइल फोनलाई त्यहाँ पठाइएको आयोग स्रोतले जनाएको छ ।
लामिछानेको रिहाईलगत्तै देशभरका कारागारबाट बन्दी भाग्ने, कारागार तोडफोडसँगै सर्वोच्चसहित विभिन्न तहका अदालतका कागजात नष्ट भएका थिए ।यस्तै जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसँग स्पष्टीकरण सोधेको छ । आन्दोलनमा खटिएका प्रहरीको विस्तृत विवरण दिन नमानेपछि बुधबार आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो । २३ र २४ भदौको आन्दोलनमा फिल्डमा खटिएका प्रहरीको विस्तृत विवरण माग्दै आयोगले पत्राचार गरेकोमा महानिरीक्षक खापुङले जवानदेखि महानिरीक्षकसम्म सबै खटिएको जवाफ पठाएका थिए । जाँचबुझको कामलाई असहयोग गरेपछि स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले बताए ।
थप विवरण पठाउन उपत्यका प्रहरी कार्यालयलाई देखाएर पन्छिएपछि स्पष्टीकरण सोधिएको आयोग स्रोत बताउँछ ।आयोगले आज देखि घटनासँग सम्बन्धित प्रहरी कमान्डरहरूको बयान लिने भएको छ । आयोगका प्रवक्ता विज्ञानराज शर्माले आजबाट उनीहरूको बयान शुरू हुने बताएका हुन् ।