Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दुर्गा प्रसाईंलाई २६ गते वार्तामा आउन सरकारले कार्यालयमै पुगेर बुझायो पत्र

दुर्गा प्रसाईंलाई २६ गते वार्तामा आउन सरकारले कार्यालयमै पुगेर बुझायो पत्र

काठमाडौँ, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सरकारले वार्ताका लागि पुन: आह्वान गरेको छ। यसअघि विज्ञप्तिमार्फत वार्तामा बोलाएको सरकारले मंगलबार भने प्रसाईंको नागरिक बचाउ महाअभियानको कार्यालयमै पुगेर पत्र बुझाएको हो।

गृहमन्त्रालयले लेखेको पत्र जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रशासकीय अधिकृत तारानाथ फुल्लेलले नागरिक बचाउ महाअभियानको भक्तपुरस्थित कार्यालय पुगेर केन्द्रीय प्रवक्ता माधव कल्पितलाई बुझाएका हुन्। हाल प्रसाईं देशबाहिर रहेको भन्दै उनी फर्किएपछि केन्द्रीय समितिको बैठक बसेर वार्ताका विषयमा अवधारणा सार्वजनिक गर्ने कल्पितले बताएका छन्। प्रसाईंले आगामी मंसिर ७ गते देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्।

आन्दोलन घोषणा गरेका प्रसाईं भने हाल दिल्लीमा छन्। महाअभियानका प्रवक्ता कल्पितका अनुसार गृहमन्त्रालयले कात्तिक २६ गते बिहान १० बजे लागि वार्तामा बोलाएको छ। उनले संयोजक प्रसाईं दिल्ली र सिंगापुरको भ्रमणमा गएका कारण यसबारे उनी फर्किएपछि छलफल गरेर निर्णय गरिने बताए। 'गृहमन्त्रालयले कात्तिक २६ गते बिहान १० बजेका लागि वार्तामा बोलाइएको छ,' उनले भने, 'उहाँको स्वदेश फिर्तिपछि बैठक बसेर कुरा गर्ने छौँ। उहाँ शुक्रबार स्वदेश फर्किनुहुनेछ। अनि कुरा हुन्छ।'