काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेसँग औपचारिक बयान सकिएको छ । भदौ २३–२४ को जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्षताको आयोगले आज रवि लामिछानेसँग औपचारिक बयान लिएको हो । जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे सोधपुछ गर्न गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई आज बोलाएको हो ।
जाँचबुझ आयोगले सोधपुछका लागि झिकाउन भनेपछि उनलाई दिउँसो १ बजे सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थित गराईएको थियो । रविलाई राखिएको नख्खु कारागारका तत्कालीन जेलर सत्यराज जोशीले दिएको बयान र रविको बयानमा समानता भेटिएपछि ती बयानलाई प्रमाणित गर्दै त्यसका आधारमा थप कारवाही अगाडि बढाउने तयारी गरेको बुझिएको छ । तत्कालीन जेलर जोशीले तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडीको दबाबमा एउटा कागजमा सही गरेको स्वीकारेका छन् ।
उनले रवि जेलबाट निस्किएको एक घण्टापछि उक्त कागजमा सही गरेको बयान दिएका छन् । लामिछानेकै कारण धेरै कैदीबन्दीहरु जेलबाट भाग्न सफल भएको आरोप उनीमाथि छ । उक्त आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग, कारागारमा सुरक्षाका लागि खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीहरूसँग घटनाकेन्द्रित बयानसमेत लिइसकेको छ। आयोगको टोली गत सोमबार २४ भदौमा भएको घटनाको वस्तुस्थिति अध्ययनका लागि कारागारमै पुगेको थियो ।
यता रवि लामिछानेका कारण नख्खु कारागार बचेको नख्खुका जेलरले जाँचबुच आयोगलाई बयान दिएका छन् । जेनजी आन्दोलन छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा जेलरले रविका कारण जेलमा हुनसक्ने ठूलो क्षति टरेकोबताउँदै भन्यबाद दिनु पर्ने समेत बताएका छन् । जााँचबुझ आयोगले आइतबार जेलर सत्यराज जोशीसँग आयोगमै बयान लिएको थियो । भदौ २३ र २४ गते मुख्य मुख्य घटना भएका स्थानमा खटिएका प्रहरी कर्मचारीको विवरण उपलब्ध गराउन आयोगले प्रहरी महानिरीक्षकको सचिवालयलाई पत्राचार गरेको थियो । अहिले प्रहरीले सहयोग नगरेको भन्दै आयोग असन्तुष्ट बनेको छ ।