काठमाडौँ, माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र महासचिव धनश्याम भुसालले आज भेटवार्ता गरेका छन्। दुई नेतालाई निवासमै बोलाएर प्रचण्डले छलफल गरेको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए।
माओवादी र एकीकृत समाजवादीबीचको प्रस्तावित एकतामा नजाने घोषणा गरेका खनाल मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुन्डु पुगेका थिए। पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले गएराति ओलीसँग वामपन्थी एकताको विषयमा विस्तृत छलफल गरेका थिए। उनले ओलीसँग एकता सम्भव नभएको स्पष्ट पारेका छन्।
खनाल र भुसाल अहिले पनि एकता प्रक्रियासम्बन्धी आन्तरिक छलफलमै छन्। उक्त छलफलमा माओवादी तर्फबाट नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका थिए।
माओवादी केन्द्र, एकीकृत समाजवादी, महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुभाषराज काफ्लेको जनसमाजवादी, चिरण पुनको नेकपा, कर्णजीत बुढाथोकीको माओवादी समाजवादी, प्रेमबहादुर सिंहको नेकपा साम्यवादी र गोपाल किरातीको माओवादी कम्युनिस्ट पार्टी नेपालबीच पार्टी एकता गर्ने तयारी भइरहेको छ।
यता नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो अध्याय टुंगिएको घोषणा गरेकी छन्। बुधबार बसेरा होटलमा पत्रकार सम्मेलन गर्दै उनले देशमा “सयौँ दोकानभन्दा एउटा वस्तुनिष्ठ लोकतान्त्रिक पार्टी” आवश्यक रहेको बताइन्।
उनले माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको एकताले वामपन्थी आन्दोलन झनै कमजोर हुने दाबी गरिन्। एमाले र माओवादी मिलेर नेकपा बनेपछि पार्टीभित्रको लोकतन्त्र नासिएको उल्लेख गर्दै उनले अहिलेको एकताले पनि त्यही संकट दोहोरिने ठोकुवा गरिन्।
उता नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले झाँक्री नेतृत्वको असन्तुष्ट समूह एमालेमै फर्किन लागेको जानकारी दिएका छन्। झाँक्रीसहित किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राईलगायत एकीकृत समाजवादीका १०० भन्दा बढी नेता–कार्यकर्ता एमालेमा प्रवेश गर्ने तयारीमा छन्।
अर्का नेता किसान श्रेष्ठले पनि आफूहरू एमालेमा निःशर्त फर्किन लागेको पुष्टि गर्दै भने, “हामीलाई केही चाहिएको छैन, मूल घरमा हाँसेर बोलिदिए, सम्मानजनक व्यवहार गरिदिए पुग्छ।”
पार्टी एकताको प्रक्रिया अहिले तिव्र गतिमा अघि बढिरहेको छ। आज बिहान ११ बजे एकता घोषणा गर्ने बताइए पनि प्रचण्डले खनाल र भुसाललाई मनाउने प्रयास गरिरहेकाले ढिलाइ भएको बुझिएको छ।
माधव नेपालले असन्तुष्ट नेतासँग संवाद नगरी एकताको प्रस्ताव अघि बढाएपछि धेरै नेता–कार्यकर्ता एमालेमै फर्किने संकेत देखिएको छ।