काठमाडौँ । जनार्दन शर्माले नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीसहित वामपन्थी घटकहरुसँगको एकतालाई अस्वीकार गरे। उनले माओवादी केन्द्रबाट अलग गरी नयाँ बाटोसमेत छानिसके। आजको समाचारमा उनले कुन कारणले मूल पार्टीको बाटो बिराए, पछिल्लो विकास के छन् र आगामी राजनीतिक सम्भावनाहरु के हुन् भन्ने समग्र विश्लेषण सहित प्रस्तुत गर्दैछौँ।
जनार्दन शर्माले माओवादी आन्दोलनको क्रममा महत्त्वपूर्ण भूमिका खेलेका थिए। पार्टीमा उपमहासचिवको जिम्मेवारीमा रहँदै पार्टी नेतृत्वसँग केही असन्तुष्टि पोख्दै आएका पनि थिए। खासगरी पार्टी महासचिव नबनाएको झोँकमा उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लक्षित अभिव्यक्ति र विभिन्न सामाजिक सञ्जालमार्फत आक्रमण जारी राखेका थिए।
उनी पार्टीभित्रै नेतृत्व हस्तान्तरण, वैचारिक स्पष्टता, भ्रष्टाचार तथा कमिसन–दलाली सम्बन्धी प्रश्न उठाउँदै आउनेमध्येका नेता हुन्। तर, यहाँ बिर्सिनै नहुने कुरा के भने उनी माओवादीबाट लाभको पद पटकपटक पाउनेमध्येका एक नेता हुन्। अर्थमन्त्री हुँदा त उनलाई करको दर हेरफेरको विषयमा विचौलियासँग मिलेको आरोप पनि लाग्यो।
केहीअघि पार्टीको सचिवालय बैठकमा उनले फरक प्रतिवेदन भनेर राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सोही बेलादेखि नै उनी माओवादी फुटाउन वा छोड्न खोज्दैछन् भन्ने अड्कल काटिएको थियो ।
असन्तुष्टिका कारणहरुका रुपमा उनले भ्रष्टाचार, कमिसनतन्त्र, हस्तान्तरणहीन नेतृत्व, पारदर्शिताको अभाव लगायत विषयहरु उठाएका थिए। तर बजेटकै करको दर हेरफेरमा आफूले बिचौलियासँग मिलेर खेलेको खेल भने उनले बिर्सिए। त्यसपछि पार्टीभित्र नेतृत्व स्तरसँग वैचारिक तथा शैलीगत मतभेद बढ्दै गए।
विशेष गरेर पार्टीले नेकपा (एकीकृत समाजवादी) लगायत साना दलहरूसँग एकता गर्न प्रयास गरिरहँदा, उनले त्यस प्रक्रियामा सहभागी नहुने नीति तय गरे। मंगलबार मात्रै ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा शर्माले माओवादीबाट औपचारिक रूपमा अलग हुने घोषणा गरे।
उनीसँगै पूर्वउपमहासचिव राम कार्की तथा अन्य नेताहरूले नयाँ राजनीतिक अभियान प्रगतिशील अभियान नेपाल सुरु गर्ने निर्णय समेत लिए।
“एकताको नाममा माओवादी धारलाई विसर्जन गर्ने” प्रयास भएको भन्ने उनको तर्क छ। तर उनले त्यहीँ संघर्ष गरेर माओवादी धारलाई जोगाउन सकिन्छ भन्ने विश्वास आफैँलाई गर्न सकेनन्। त्यसो त अब उनले घोषणा गरेको अभियानले पनि माओवादी धार जोगाउँछ भनेर विश्वास गर्न सकिने अवस्था छैन।
किन भने त्यहाँ पूर्व एमाले रहेका भीमरावल, हाल नेकपा एकीकृत समाजवादी पार्टीको महासचिव रहेका तर, माआवादीसँगको एकतामा असन्तुष्टि जनाइरहेका घनश्याम भुसाल पनि मिसिने तयारीमा छन्। यसकारण पनि भीम रावल र घनश्याम भुसाल त्यहाँ मिसिँदा जनार्दनको अभियानमा माओवाद स्वीकार्न सक्ने अवस्था देखिँदैन। यी पृष्ठ भूमिमा जनार्दनले बाटो बिराएको प्रष्ट देखिन्छ।