Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज रामकुमारी झाँक्रीदेखि किसान श्रेष्ठसम्मका नेता एमालेमा फर्किँदै

आज रामकुमारी झाँक्रीदेखि किसान श्रेष्ठसम्मका नेता एमालेमा फर्किँदै

काठमाडौँ- नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पनि विभाजन भएको छ। अध्यक्ष माधवकुमार नेपालसहितका अधिकांश नेताहरु नेकपा माओवादी केन्द्रसहितका दलसँग एकता गर्न तयार भएपछि त्यहाँका केही नेताहरु असन्तुष्ट बन्दै पुनः एमालेमै फर्किन लागेका छन्।

रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राईलगायत नेता–कार्यकर्ताले एमाले फर्किन लागेका हुन्।

नेताहरु एमालेमा फर्किएको घोषणा आज बुधबार बबरमहलस्थित बसेरा बुटिक होटलमा पत्रकार सम्मेलन गरेर गर्ने किसान श्रेष्ठले बताए।

झाँक्रीले पनि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्दै राष्ट्रियता, प्रजातन्त्र, सामाजिक न्याय, विकास र समृद्धिको दिशामा अघि बढ्न, सैद्धान्तिक र वैचारिक दृष्टिकोण मिल्ने राजनीतिक शक्तिहरू एक ठाउँमा आउन आवश्यक छ भन्ने कुरा बोध भएको बताएकी छन्।

‘हामीले लामो समयदेखि निरन्तर यो अभियानमा संघर्ष गर्दै आएका छौँ। तर उक्त संघर्ष अपेक्षाकृत निष्कर्षमा पुग्न सकेको छैन, ’ उनले भनिन्, ‘आज हाम्रासामु जुन परिस्थिति सिर्जना भएको छ यस्तो अवस्थामा नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्दै विकास र समृद्धीको मार्गमा अगाडि बढ्न हामी लिने बाटो कस्तो हुन्छ भन्ने सन्दर्भमा विचार विमर्श गर्न, नेकपा एकीकृत समाजवादीमा आबद्ध क्रान्तिकारी साथीहरूले पत्रकार सम्मेलनको आयोजना गरेका छौँ।’