काठमाडौँ, मोरङको लेटाङमा १३ वर्षीया अंशु गौतमको हत्या प्रकरणमा संलग्न व्यक्तिहरू पक्राउ नपरेको भन्दै पीडित परिवारले घटनाको २७ दिन बितिसक्दा पनि शव बुझ्न अस्वीकार गरेका छन्।
गत असोज २१ गते ‘पिङ खेल्न जान्छु’ भनी घरबाट निस्किएकी अंशुको शव कात्तिक ७ गते लेटाङ–२ र बेलबारीको सीमामा रहेको साझेदारी वन क्षेत्रमा टुक्रा–टुक्रा अवस्थामा फेला परेको थियो। प्रहरीले प्रारम्भिक अनुसन्धानमा बलात्कारपछि हत्या गरिएको र प्रमाण नष्ट गर्न शव टुक्रा पारिएको हुनसक्ने आशंका व्यक्त गरेको छ।
अंशुको अन्तिम दृश्य बुधबारे चौर नजिकै देखिएको थियो, तर शव जङ्गलमा करिब साढे चार किलोमिटर टाढा फेला परेको हुनुले अपहरण गरी योजनाबद्ध रूपमा हत्या गरिएको हुनसक्ने संकेत दिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न व्यक्तिहरूको पक्राउ नपर्नु र अनुसन्धानको ठोस नतिजा नआउँदा गौतम परिवारको पीडा थपिएको छ। त्यसैले परिवारले दोषी पक्राउ गरी सार्वजनिक नभएसम्म दाहसंस्कार नगर्ने अडान लिएका छन्। अंशुका पिताजी दामोदर गौतमका अनुसार, ‘डीएनए रिपोर्ट र दोषीको गिरफ्तारी भएपछि मात्रै शव बुझ्ने निर्णय गरेका छौँ।’
मोरङ प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान तीव्र बनाएको जनाएको छ। जिल्ला प्रहरी प्रमुख एसपी कविता कटुवालले घटनास्थलबाट संकलित प्रमाणहरू फरेन्सिक परीक्षणका लागि पठाइएको र अनुसन्धान समिति गठन गरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), कोशी प्रदेश प्रहरी विशेष टोली र संघीय प्रहरी इकाईको सहयोगमा अनुसन्धान भइरहेको बताए।
प्रहरी निरीक्षकको नेतृत्वमा पाँच जनाको दक्ष टोलीले घटनास्थल र सम्भावित क्षेत्रमा सक्रिय अनुसन्धान गरिरहेको छ। एसपी कटुवालले भने, ‘हामी विश्वास गर्छौँ, छिट्टै अपराधमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनेछौँ।’
हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको अंशुको शवले न्यायको माग गरिरहेको छ भने परिवारको अडानले प्रहरीमाथि थप दबाब सिर्जना गरेको छ। यस घटनाको सफल अनुसन्धान र दोषीको कारबाहीलाई स्थानीय प्रहरीका लागि चुनौतीपूर्ण मानिएको छ।