काठमाडौँ, रसुवागढीस्थित नेपाल–चीन मितेरी पुल एक महिनाभित्र पुनर्निर्माण सम्पन्न हुने भएको छ। गत असारमा ल्हेन्देखोलाको बाढीले पुल बगाएपछि दुई देशबीचको आवतजावत बन्द भएको थियो। हाल उक्त पुल चिनियाँ पक्षले पुनर्निर्माण गरिरहेको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार चिनियाँ अधिकारीसँगको छलफलपछि एक महिनाभित्र पुल निर्माण पूरा गरी सञ्चालन मिति पुनः बैठकमार्फत तय गरिनेछ। प्रतिकूल मौसमका बाबजुद निर्माणलाई प्राथमिकता दिइएकाले अवस्था सामान्य रहे यातायात चाँडै सञ्चालन हुने जानकारी उनले दिए।
पुल बगाएपछि रसुवागढी नाकामार्फत हुने आयात–निर्यात पूर्ण रूपमा ठप्प हुँदा १४ देखि १५ अर्ब रुपैयाँ राजस्व गुमेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए। गत आर्थिक वर्षको सो अवधिमा १४ अर्ब भन्सार राजस्व संकलन भएको थियो।
त्यस्तै, स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड (१६ किमी) मर्मत तथा निर्माण कार्य जारी रहेको भए पनि पहिरो र नदी कटानका कारण काम अपेक्षित रूपमा अघि बढ्न नसकेको सडक विभागले जनाएको छ। टिमुरे, लिङलिङ, कागतीवारी र घट्टेखोला आसपासका क्षेत्रमा सडक कटान निरन्तर भइरहेको जनाइएको छ।