काठमाडौँ, हेटौडाबाट काठमाडौं प्रवेश गर्ने वैकल्पिक छोटो मार्ग सिस्नेरी–दक्षिणकाली सडक आइतबार अपराह्न साढे तीन बजेपछि सञ्चालनमा आएको छ।
ईन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेस्थित सडक खण्डमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो। शनिबार अपराह्न खसेको पहिरोका कारण हेटौडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अवरुद्ध भएको थियो।
लगातारको वर्षाका कारण माथिबाट पहिरो झरिरहेकाले रातभर सडक खुलाउन नसकिएको र आइतबार बिहानदेखि डोजर परिचालन गरी पहिरो पन्छाएपछि सडक सुचारु गरिएको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता पुस्कर बोगटीले जानकारी दिए।