काठमाडौँ, काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधानतर्फ अघि बढ्दैछ। ऊर्जामन्त्री कुलमान घिसिङ आइतबार बिहानै बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेपछि चार दिनदेखि रोकिएको फोहोर फाल्ने काम पुनः सुरु भएको छ।
ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईंका अनुसार, मन्त्री घिसिङले १५ दिनभित्र स्थानीय मागहरू पूरा गर्ने प्रतिबद्धता जनाएपछि फोहोर फाल्न स्थानीयले अनुमति दिएका हुन्। मन्त्रीले अघिल्ला सहमतिहरूलाई कार्यान्वयन गर्ने आश्वासन दिएका छन्।
स्थानीयले फोहोर वैज्ञानिक रूपमा व्यवस्थापन गर्नुपर्ने र २०७९ जेठ २६ गते भएको १८ बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने माग गर्दै फोहोर फाल्न रोक लगाएका थिए। उक्त सम्झौतामा फोहोरको दुर्गन्ध नियन्त्रण, गाडीबाट लिच्चड नचुहिने व्यवस्था, र फोहोरबाट निस्कने लेदो खोलामा नमिसिने सुनिश्चित गर्नुपर्ने उल्लेख छ।
गत शुक्रबार शहरी विकास मन्त्रालयमा प्रभावित पालिकाका प्रतिनिधिहरूसहितको छलफल निष्कर्षविहीन भए पनि मन्त्री घिसिङको स्थल भ्रमणपछि सहमति कार्यान्वयनमा अघि बढ्ने संकेत देखिएको छ।
हाल काठमाडौँ उपत्यकाबाट दैनिक करिब १५० वटा गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने गर्छन्। यसले नुवाकोटको ककनी र बेलकोटगढी नगरपालिका, र धादिङको धुनवेशी नगरपालिकाका स्थानीयवासीलाई प्रत्यक्ष असर पार्दै आएको छ।