काठमाडौँ, तेह्रथुमको आठराईबाट झापा जाँदै गरेको मे १ ज ३१३७ नम्बरको बोलेरो र इलामबाट पाँचथरतर्फ जादै गरेको प्र.१-०१-०१६ प १३६७ नम्बरको मोटरसाईकल इलाम देउमाई नगरपालिका-१, स्थित कुखुरे एक आपसमा ठक्कर खादा दुर्घटना भएको छ । इलाम जिल्लाको देउमाई नगरपालिका–१ कुखुरेस्थित मेची राजमार्गमा बोलेरो र मोटरसाइकल ठोक्किँदा १० जना घाइते भएका छन्।
बिहीबार बिहान करिब १०:३० बजे तिर भएको उक्त दुर्घटनामा बोलेरोमा सवार ९ जना र मोटरसाइकल चालक १ जना घाइते भएका हुन्।
घाइतेहरूमा झापाको बिर्तामोड–६ की ३० वर्षीया सुशीला तिमल्सिना, तेह्रथुम आठराई–१ का ६५ वर्षीय छविलाल गुरुङ र ३० वर्षीय प्रकाश शेर्पा, ताप्लेजुङ आठराई त्रिवेणी–१ की ६४ वर्षीया डम्मरकुमारी गुरुङ, ३० वर्षीया इन्द्र गुरुङ, २८ वर्षीया अञ्जना गुरुङ, धनकुटाकी ३२ वर्षीया सुष्मा लिम्बू, पाँचथर फालेलुङ–६ की २३ वर्षीया असिना तामाङ, झापा बुद्धशान्ति–४ की २७ वर्षीया चन्द्रकला कालिकोटे र मोटरसाइकल चालक पाँचथर हिलिहाङ–६ का ३६ वर्षीय लक्ष्मीप्रसाद मैनाली रहेका छन्।
इलाम प्रहरीले घाइतेमध्ये सुशीला तिमल्सिनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था सामान्य रहेको जनाएको छ।
दुर्घटनापछि जीप चालक तेह्रथुम आठराईका रविन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। प्रारम्भिक अनुसन्धानअनुसार, साँघुरो सडक खण्डमा ठोक्किँदा जीप सडकको डिलमुनी खसेको प्रहरीले जनाएको छ।