काठमाडौँ, विपद् जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुन्डेबेँसी–सिन्धुली खण्डमा बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ। यो अवधिमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारीसाधनबाहेक सबै सवारी साधन रोकिएका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार लगातारको वर्षा र पहिरोको सम्भावनाले यात्रु र सवारीसाधनलाई हुन सक्ने जोखिम टार्न यो निर्णय गरिएको हो। यस अवधिमा सबै प्रकारका सार्वजनिक र निजी सवारीसाधन सञ्चालनमा निषेध गरिएको उनले बताए।
उनका अनुसार, रोशी खोला वा अन्य स्थानीय खहरे खोलामा बाढी आएमा स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै समयमा सवारी रोक्न सक्नेछन्। उनले अत्यावश्यक कारण बाहेक राति यात्रा नगर्न र टाढा गन्तव्यमा नजान आग्रह गरे।
पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ। यस्तै, बीपी र अरनिको राजमार्ग आयोजनाहरूले सडक अवरुद्ध भए तुरुन्त खोल्न सक्ने गरी डोजर, एक्स्काभेटर र लोडर तयारी अवस्थामा राखिएको जानकारी दिएको छ।
