काठमाडाैं, पूर्वप्रधानमन्त्री तथा नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल सरकारी सुरक्षाविहिन बनेका छन् । सरकारले मंगलबार पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको सुरक्षार्थ खटिएका सबै सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरे संगै उनी एक्लै बाहिर निश्किएका छन् । आजबाट नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी छ । सुकेधारस्थित मिराकल पार्टी प्यालेसमा बसेको बैठकमा अध्यक्ष माधव नेपाल सुरक्षाकर्मी विना नै पुगेका हुन् ।
उनलाई पूर्वप्रधानमन्त्रीको हैसियतमा दिइँदै आएको सुरक्षा सरकारले फिर्ता लिएको हो । उनको सुरक्षामा सशस्त्र प्रहरीका १३ सहित नेपाल प्रहरी पनि खटिएका थिए । मापदण्डअनुसार उनले पाउने दुईजना कायमै राखेर सबै सुरक्षाकर्मी फिर्ता बोलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार मापदण्डअनुसार पाउनुपर्ने सुरक्षा यथावत रहेको जानकारी दिए । नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनलाई पतञ्जलि जग्गा प्रकरणमा दोषी करार गरी बिगो र कैद माग दाबी गर्दै विशेष अदालतमा दर्ता गरेको मुद्दा विचाराधीन छ । उनीसहित ९३ जनामाथि गत २२ जेठमा १८ करोड ५८ लाखको बिगो माग दाबी गरिएको छ । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
अभियुक्त रहेकै अवस्थामा कुनै पनि व्यक्तिलाई राज्यले दिने सुविधा उचित नहुने ठहर गर्दै सुरक्षाकर्मी फिर्ता बोलाइएको गृह स्रोतको भनाइ छ । उनलाई सुरक्षा दिएर राज्यको सम्पत्ति दोहन भएको भन्दै आलोचना पनि भएको थियो । हुन त नेपालका प्राय मन्त्री र प्रधानमन्त्रीहरुलाई दिने सुरक्षा सुबिधा बढी भएको भन्दै आलोचना हुने गरेको थियो । मन्त्रीहरुको रबाफ यस अगाडी छोई सक्नु थिएन । महंगा गार्डी र सुरक्षाकर्मीहरु अगाडी पछाडी हिडाउँदै राज्यको सम्पत्ति दुरुपयोग निकै बढेको थियो ।
तर, अन्तरिम सरकारका मन्त्रीहरुले भने यो परिपाटीलाई परिवर्तन गरिदिएका छन् । उनीहरुले चाहिने भन्दा बढी सुरक्षाकर्मी नै राखेका छैनन । त्यसैले अहिलेकै गृहमन्त्रीले नेपालको सुरक्षाकर्मीलाई फिर्ता बोलाएका हुन् । हिजोबाट नेपालका सबै सुरक्षाकर्मीहरुलाई फिर्ता गरिएको नेपालको सचिवालयले जनाएको छ । निजी सुरक्षा अधिकृत (पीएसओ) समेत फिर्ता भएका छन् । यसअघि सरकारले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र केपी शर्मा ओलीको सुरक्षा घटाएको थियो ।
नेपालको भने पुरै सुरक्षा हटाइएको छ । जेनजी आन्दोलनपछि पहिलो पटक बसेको एकिकृत समाजबादीको केन्द्रीय कमिटी बैठकमा मुख्य गरी ६ वटा विषयमा छलफल भईरहेको छ । बैठकमा मुलुकको वर्तमान राजनीति, जेनजी आन्दोलन, निर्वाचन तयारी, आन्तरिक सङ्गठन व्यवस्थापन र नयाँ मनोनीत केन्द्रीय सदस्यको शपथ छलफलका एजेण्डा रहेका छन् ।