काठमाडौँ, देशभरका अदालतहरूमा २४ भदौमा भएको तोडफोड र आगजनी घटनामा अब औपचारिक रूपमा जाहेरी (FIR) दर्ता गरिने भएको छ। शुक्रबार बसेको सर्वोच्च अदालतको फुलकोर्ट बैठकले क्षति पुगेका सबै अदालतहरूका तर्फबाट सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्ने निर्णय गरेको हो।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले सबै अदालतले आफूहरूसँग रहेका प्रमाणसहित जाहेरी दिने जानकारी दिए। उनले जाहेरीमा कसैको नाम तोकिएको नहुने र अनुसन्धानपछि जिम्मेवार पहिचान गरिने बताए।
आन्दोलनका क्रममा सर्वोच्च अदालतसहित देशभरका २३ वटा अदालतमा क्षति पुगेको छ। अदालतहरूले क्षतिको मूल्याङ्कन गरी त्यसलाई पूर्ण, आंशिक र सामान्य क्षति गरी तीन वर्गमा विभाजन गरेका छन्।
सर्वोच्च अदालतको मुख्य भवन, पाले घर, सुरक्षाकर्मी भवन, सूचना कक्ष, छापाखाना भवन र प्रतिक्षालय गरी ६ वटा संरचनामा आगजनी भएर पूर्ण क्षति पुगेको छ। मुख्य भवनभित्रका इजलास र न्यायाधीशका च्याम्बरहरू समेत प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन्।
चारपाङ्ग्रे सवारी साधनमध्ये न्यायाधीशका १३ वटा, अदालतका ३० वटा र दुईपाङ्ग्रे सवारी साधनमध्ये ६६ मोटरसाइकल, ३६ स्कुटर र ४ निजी मोटरसाइकल पूर्ण रूपमा जलेका छन्।
त्यस्तै, आगजनी र लुटपाटका कारण ९४ मिसिल र्याक, २७९ टेबल, १०१ टी टेबल, ६८२ कुर्सी, १०० बेन्च, ३९२ दराज, ३०९ बुक केस, ६९ सोफा सेट, ७४ किचन र्याक लगायत सयौँ सामग्री नष्ट भएका छन्।
सबैभन्दा गम्भीर क्षति कागजी अभिलेखमा पुगेको छ। घटनामा २०,०३४ चालु मिसिल र करिब १ लाख ९७ हजार अभिलेख मिसिल जलेर पूर्ण रूपमा नष्ट भएका छन्।