काठमाडौँ, हिजो सुशीला कार्की नेतृत्वको सरकारमा नयाँ मन्त्रीका लागि सिफारिस गरिएका ४ जनामध्ये दुई जना मात्र मन्त्रीमा नियुक्त भए ।तर एकाएक शपथ ग्रहणको केही बेर अघि मन्त्री बन्ने लिष्टमा रहेका गणपतिलाल र खगेन्द्र सुनारको नाम भने काटियो । उनीहरु विबादमा मुछिएको आरोपहरु सहित प्रमाणहरु भाईरल बन्न थालेपछि सपथ ग्रहण रोकिएको थियो । र यतिबेला भूमिसुधार मन्त्रीमा प्रस्तावित गणपतिलाल श्रेष्ठ भने आफैं ब्याक भएको पाईएको छ।
सुरुमा उनलाई पर्यटनमन्त्रीमा नियुक्त गर्ने चर्चा चलिरहेका बेला एकाएक उनको मन्त्रालय हेरफर गर्दै भूमि सुधार मन्त्रालयको जिम्मेवारीमा राख्ने गरि लिष्ट फाईनल भएको थियो । अहिले नै गणपतिलाल श्रेष्ठले बिज्ञप्ती जारी गर्दै प्रधानमन्त्री सुशीला कार्कीसँग भएको सहमतिविपरीत मन्त्रालय परिवर्तन गरिएका कारण आफू पछि हटेको दाबी गरेका छन्। उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलाय परिवर्तन गरी भूमिसुधार मन्त्रालयको जिम्मेवारी दीएपछि अस्वीकार गरेको दाबी गरेका छन्। आफू मन्त्री बन्न खासै लालायित नरहेको तर प्रधानमन्त्री कार्कीले नै प्रस्ताव गरेपछि आफ्नो विज्ञताका आधारमा पर्यटनमन्त्री बन्ने सहमति भएकामा पछि एकाएक परिवर्तन गरिएको उनले उल्लेख गरेका छन् ।
उनले जारी गरेको बिज्ञप्तीमा भनिएको छ मलाई बालुवाटारमा बोलाएपछि गृहमन्त्री तथा ऊर्जामन्त्री समेतको उपस्थितिमा मैले आफ्नो अनुभव तथा योजना बताएको र उहाँले मसँग संवाद गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मा दिन तपाईं सक्षम व्यक्ति रहेकोले भोलि शपथको तयारी गर्नुस भनेको र म आज विभिन्न विज्ञहरू तथा जात्रा पर्वमा संलग्न तथा सरोकारवालाहरूसँग छलफल गरिरहेको अवस्थामा बिहान एकाएक सञ्चारमाध्यमबाट आफू भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको रूपमा नियुक्त हुन लागेको जानकारी भएको थियो।
केही समयपछि गृहमन्त्रीज्यूले आफूलाई फोन गरेको र उहाँले तपाईंविरुद्ध ठूलै शक्ति लागेको र प्रधानमन्त्रीज्यूलाई भेट्न सुझाव दिएको र सोपश्चात प्रधानमन्त्री सचिवालयमा फोन गरेको र सोपछि सम्माननीयज्यूलाई भेटी आफूलाई जानकारी नै नदिई के आधारमा मन्त्रालय हेरफेर गर्नुभएको र आफू मन्त्री बन्नको लागि नआएको तर आफ्नो विज्ञताले योगदान दिन र यो संकटमा देशको लागि लामो समय सङ्घर्ष गरेको नागरिकको हिसाबले सेवा गर्न आएको हो भनी बताएको थिएँ। सोपछि उहाँले मैले अरूलाई वचन दीसकेको जानकारी गराउनुभयो र मैले हिजो बेलुका मलाई दिनुभएको वचनचैँ के भनी प्रश्न गर्दा उहाँले कुनै जवाफ नदिई अर्कोतिर हेर्नुभयो।
प्रधानमन्त्रीज्यूले यो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा गुठी, मठ मन्दिर यसै मन्त्रालयमा छ, तपाईंको क्षेत्राधिकारमा पर्छ भन्नुभएको थियो। तर मैले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गुठीलाई जग्गाको रूपमा हेरेको र आफूहरूले सधैँ गुठीलाई संस्कृति र सम्पदाको रूपमा हेरेको कारण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा गएर सोही गुठी सञ्चालन गर्ने नाममा सम्पत्तिको प्रयोग भनी देवश्वको दोहन गरी आफ्नो अभियान र समुदायको मर्मसमेत विपरीत हुने गरी नैतिकता नगुमाउने भनी जवाफ दिएको थिएँ। आफ्नो विज्ञता अनुसारको मन्त्रालय नपाएमा मन्त्री नबन्ने भनेर उनी हिँडेको स्रोतले बताएको छ । गणपतिको नाम अहिले विचाराधीन नै राखिएको भए पनि उनी पर्यटन मन्त्री बन्ने सम्भावना क्षीण रहेको स्रोतको दावी छ ।