काठमाडौं, जुम्ल्याहा दिदीबहिनीसहित तीन जना बालिका कैलालीको जानकी गाउँपालिका–५ पथरैया–गुजरुवा, सातविघा नजिकैको नहरमा डुबेर मृत्यु भएका छन्।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार घटना रानी जमरा–कुलरिया सिँचाइ आयोजना अन्तर्गतको कुलरिया नहरमा बालिकाहरू नुहाउने क्रममा भएको हो।
उनका अनुसार टीकापुर नगरपालिका–१ ब्लक नं. १५ का जुम्ल्याह दिदीबहिनी निशा बजगाई र मानुषी बजगाईं र जानकी गाउँपालिका–५ गुजरुवाकी सुलोचना तिमिल्सैनाको नहरमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।
निशा र मानुषी सीतापुरस्थित जनजागृति माध्यमिक विद्यालय कक्षा ५ की विद्यार्थी थिइन् भने सुलोचना जानकी–१ स्थित सरस्वती माध्यमिक विद्यालय कक्षा ४ मा पढ्दै थिइन्।
प्रहरी नायब उपरीक्षक डाँगीका अनुसार निशा र मानुषी आफ्ना अभिभावकको नजरबिना नहरमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो। तीनै जनाको शव टीकापुर अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ।